काठमाडौं । आज आइसिसी विश्वकप लिग २ क्रिकेटमा नेपालले आयोजक नेदरल्यान्ड्ससँग खेल्दैछ। यो खेल नेदरल्यान्ड्सको उट्रेचमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। अघिल्लो खेलमा नामिबियासँग ३ रनले हार व्यहोरेको नेपाल आजको खेल जितेर जितको लयमा फर्किन चाहन्छ। नामिबियाविरुद्ध करण केसीले ५ विकेट लिएका थिए भने आसिफ शेख र दीपेन्द्र सिंह ऐरीले राम्रो ब्याटिङ गरे पनि नेपाल २१२ रनको लक्ष्य भेट्याउन असफल भएको थियो।
लगातारको हारपछि नेपाल अंक तालिकाको पाँचौँ स्थानबाट खस्केर छैटौँ स्थानमा पुगेको छ। नेपालले ३० खेलबाट २४ अंक मात्र जोडेको छ। अर्कोतर्फ, ३६ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छ भने नेपाललाई हराएको नामिबिया २६ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ।
अंक तालिकाको शीर्ष स्थानमा अमेरिका (४३ अंक), दोस्रोमा स्कटल्यान्ड (३८ अंक) र चौथोमा ओमान (३१ अंक) रहेका छन्। क्यानडा २४ अंकसहित सातौँ र युएई १४ अंकसहित सबैभन्दा तल (आठौँ स्थानमा) छन्। नेपाललाई शीर्ष चारमा पर्न अबका खेलहरू जित्नैपर्ने दबाब छ।


