CLI

सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार चौधरीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा चौधरीको २०६५ पुस ११ गते सरकारी सेवामा नियुक्त भएको मितिदेखि २०८२ असार २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनको तथा एकाघर परिवारका सदस्यहरूको आय–व्यय विश्लेषण गरिएको थियो।

अनुसन्धानबाट जाँच अवधिमा चौधरी तथा उनको परिवारको वैधानिक आम्दानी २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा रहेको देखिएको आयोगले जनाएको छ। उक्त आम्दानीमा तलब तथा पारिश्रमिक बचत, जग्गा बिक्रीबाट प्राप्त रकम, श्रीमतीको पारिश्रमिक बचत, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा, घरबहाल आय, बैंक ब्याज, कृषि आय, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण, व्यक्तिगत सापटी तथा बुबाको पेन्सनलगायतका स्रोत समावेश छन्।

यस्तै, सोही अवधिमा जग्गा तथा घर खरिद, सवारीसाधन खरिद, जीवन बीमा, छोराछोरीको अध्ययन खर्च, बैंक तथा वित्तीय संस्थाको ऋण साँवा–ब्याज भुक्तानी, कम्पनीमा लगानी, शेयर खरिद, स्वआर्जित घर निर्माण, ट्र्याक्टर, सुन तथा अन्य सम्पत्तिमा गरिएको लगानीसहित कुल ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा खर्च तथा लगानी भएको आयोगको निष्कर्ष छ।

आयोगका अनुसार चौधरीको वैधानिक आयभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बढी खर्च तथा लगानी भएको देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेकाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरिएको हो।

आयोगले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति चौधरी तथा उनको एकाघर परिवारका सदस्यहरूको नाममा रहेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय तथा बिगो असुलउपरको मागदाबी गरेको छ।

यसैगरी, चौधरीकी श्रीमती अर्पना कुमारीको नाममा खरिद तथा कायम रहेका सम्पत्तिसमेत गैरकानुनी आर्जनबाट जोडिएको देखिएकाले ती सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र उनलाई पनि प्रतिवादी कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

Leave Your Comment

Related News