CLI
Global College

विद्युतीय सवारी साधानले घटाउन सकेन पेट्रोलियम पदार्थको खपत, २१ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं ।उच्च विद्युतीय सवारी साधान आयात हुँदा पनि पेट्रोलियम पदार्थको खपतमा कमी आउन सकेको छैन ।

पेट्रोलियम पदार्थको कारण नेपालको व्यापार घाटा उच्च रहँदै आएकोमा त्यसलाई विद्युतीय सवारी साधानले विस्थापित वा कमी ल्याउन सकेको छैन । सरकारले स्वेदशमा उत्पादित बिजुलीको खपतलाई वृद्धि गरी व्यापार घाटा न्यून तथा अर्थतन्त्र बलियो बनाउने भने पनि तथ्यांकमा त्यसो हुन सकेको छैन ।

आर्थिक वर्ष २०८२/८३ मा पेट्रोलियम पदार्थको आयात २१.३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८२८३ मा ३ खर्ब ९ अर्ब ९७ करोड ४३ लाख ५८ हजार बराबरको पेट्रोलियम पर्दाथ आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१८२ को तुलनामा २१.३३ प्रतिशत अर्थात् ५४ अर्ब ४९ करोड ८० लाख ६ हजारले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ५५ अर्ब ४७ करोड ६३ लाख ५२ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरिएको हो । आव २०८२/८३ मा १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख २३ हजारको पेट्रोल, ७७ अर्ब २६ करोड ५० लाख ११ हजारको डिजेर र ६० अर्ब २८ करोड ६ लाख २४ हजारको खाना पकाउने ग्यास (एलपीजी) आयात गरिएको छ । आव २०८१/८२ मा १ खर्ब २८ अर्ब ७६ करोड १६ लाख ४९ हजारको पेट्रोल, ६४ अर्ब १२ करोड ७४ लाख ४३ हजारको डिजेल र ६२ अर्ब ५८ करोड ७२ लाख ६० हजारको ग्यास आयात गरिएको हो ।

अधिकांश पेट्रोल र डिजेल सवारी साधानमा प्रयोग गरिन्छ । विद्युतीय सवारी साधान आयात पछि पेट्रोल र डिजेलको आयातमा कमी आउनु पर्ने भए पनि आउन सकेको देखिदैन । विद्युतीय सवारी साधानको आयात तथा प्रयोग बढ्दै गए पनि पेट्रोल र डिजेल सवारी साधानको आयात पनि निरन्तर हुँदा व्यवस्थापन हुन नसकेको भन्सार विभागका निर्देशक किशोर बर्तौलाले इक्विटी नेपाललाई बताए । ‘सरकारी कार्यालयहरुमा अधिकांश जस्तो पेट्रोल र डिजेलबाट चल्ने सवारी साधान रहेको छ ,’ निर्देशक बर्तौलाले भने,‘अर्कोतर्फ निर्माण क्षेत्रमा समेत डिजेलेको प्रयोग हुने हुँदा आयात घट्न नसकेको हो । बिजुली खपत गरेर पेट्रोलियम पदार्थको आयातमा कमी ल्याउनु पर्ने आवश्यकता भने रहेको छ ।’

पेट्रोल र डिजेलको आयात बढ्दा खाना पकाउने ग्यासको आयात भने घटेको छ । समिक्षा अवधिमा खाना पकाउने ग्यासको आयात २ अर्ब ३० करोड ६६ लाख ३६ हजारले कमी आएको हो । आव २०८२८३ मा ६० अर्ब २८ करोड ६ लाख २४ हजारको खाना पकाउने ग्यास आयात हुँदा आव २०८१८२ मा ६२ अर्ब ५८ करोड ७२ लाख ६० हजारको अयात गरिएको थियो । खाना पकाउने ग्यासको आयातमा जसरी नै पेट्रोल र डिजेलको आयातमा कमी ल्याउनु पर्ने निर्देशक बर्तौलाले बताए । पछिल्लो समय बिजुली चुलो अर्थात् इन्डक्सनको प्रयोग बढ्दै जाँदा खाना पकाउने ग्यासको आयातमा कमी आएको उनले इक्विटी नेपालसँग भने ।

यसैगरी विद्युतीय सवारी साधानको आयातमा भने न्यून मात्र कमी आएको छ । आर्थिक वर्ष २०८२/८३ मा १० हजार ८४७ वटा विद्युतीय सवारी साधान (कार, जीप र भ्यान) आयात भएका छन् । तीन मध्ये दुई वटा अन–एसेम्बल गाडी पनि रहेका छन् । उक्त विद्युतीय सवारी साधान २५ अर्ब ५६ करोड २३ लाख १३ हजार बराबरको हो । आव २०८१/८२ मा १३ हजार ५७८ वटा विद्युतीय सवारी साधान आयात भएका थिए । यो सँगै समिक्षा अवधिमा करिब ३ हजार वटा विद्युतीय सवारी साधान आयातमा कमी आएको देखिन्छ ।

पछिल्लो समय बिजुली उत्पादन वृद्धि हुदै जाँदा यसको खपत हुन नसकेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ । इप्पानका अधिकारीहरुका अनुसार हाल नेपालमा बिजुली अधिकतम प्रयोग करिब २२ सय मेगावाट रहेको छ । भने भारत र बंगलादेशतर्फ निर्यात करिब १२ सय मेगावाट रहेको छ । समग्रमा बिजुलीको प्रयोग ३४ सय मेगावाट पुग्छ भने राष्ट्रिय ग्रिडमा जडित क्षमता ४३ सय मेगावाट रहेको छ त्यसैले गर्दा ९ सय मेगावाट बिजुली खेर जाने अवस्था रहेको छ ।

विद्युत प्राधिकरणले प्रसारण लाइन र ट्रान्सफर्मर क्षमता कमजोर रहेको हुँदा उत्पादिन बिजुली खपत हुन नसक्ने बताउँद उत्पादनकर्ताहरु समस्यामा परेको इप्पानका अधिकारीहरु बताउछन् । अधिकारीहरुका अनुसार सरकारले सवारी साधान, इन्डक्सन लगायतका बिजुली खपत हुने सामग्री बढाई मुलुकको अर्थतन्त्र समेत सुधार गर्नुपर्ने बताउछन् ।

Leave Your Comment

Related News