काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि आजदेखि लागू हुने गरी विस्तृत कार्य विवरण (जव डिस्क्रिप्सन) अनिवार्य गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साउन १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा कामको प्रकृतिसम्बन्धी विस्तृत विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको हो।
मन्त्रालयका अनुसार यस व्यवस्थाले कामदारले विदेशमा गर्ने वास्तविक काम, जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। यसबाट कामदारलाई सम्झौतामा उल्लेख भएभन्दा फरक काममा लगाइने जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, गन्तव्य मुलुक, सेवा–सर्त, पारिश्रमिक, बिदा, बीमा तथा अन्य सुविधासम्बन्धी रोजगारदाता र कामदारबीच भएका सम्झौताहरूको प्रमाणीकरण प्रक्रियालाई पनि थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विश्वास छ कि नयाँ व्यवस्थाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, पारदर्शी र कामदारमैत्री बनाउनुका साथै श्रम शोषण तथा सम्झौताविपरीत काममा लगाइने अवस्थालाई नियन्त्रण गर्न सहयोग पुग्नेछ।


