काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँचतारे होटलको नामै तोकेर खाना पकाउने ग्यासको कालोबजारी गरेको भन्दै सूचना प्रवाह गरेपछि होटल व्यवसायीले त्यसको कडा आलोचना गरेका छन्।
होटल एसोसिएसन नेपाल (हान)ले काठमाडौंस्थित आफ्नो सदस्य पाँचतारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनका क्रममा ग्यास सञ्चितिको विषयलाई लिएर सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
हानका अनुसार होटलमा मौज्दात रहेको खाना पकाउने ग्यास ग्राहकको संख्या, बुकिङ, तथा मागअनुसार तयार गरिने खानाको किसिम र परिमाणका आधारमा आवश्यक पर्ने ग्यास हो। होटलमा रहेको ग्यास सञ्चितिमा कुनै अनियमितता नरहेको संघको दाबी छ।
होटलहरूमा ठूलो संख्यामा कर्मचारी तथा कामदार कार्यरत रहने र दैनिक स्वदेशी तथा विदेशी पाहुनालाई बिहानको खाना, दिवा भोजन तथा रात्रिभोजलगायत विभिन्न खाद्य सेवा उपलब्ध गराउनुपर्ने भएकाले ग्यासको खपत सामान्य व्यवसायको तुलनामा स्वाभाविक रूपमा बढी हुने हानले जनाएको छ।
त्यसैगरी, होटल परिसरमा नियमित रूपमा सभा, सम्मेलन, गोष्ठी, उत्सव, भोजलगायत ठूला कार्यक्रम आयोजना हुने भएकाले होटलको नियमित सञ्चालन, पाहुना सेवा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक परिमाणमा ग्यास मौज्दात राखिनुलाई कालोबजारीको आशयमा बुझ्न नहुने हानको भनाइ छ।
हानले राज्यका नीति, नियम तथा मापदण्डको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा ग्यासलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित नभए अन्तर्राष्ट्रिय पर्यटकलाई स्तरीय सेवा दिन कठिन हुने जनाएको छ।
अनुगमनका नाममा सरकारी निकायबाट एकतर्फी तथा अव्यावहारिक निर्देशन दिँदा होटलको सेवा प्रवाहमा समस्या आउन सक्ने भन्दै हानले यस्तो कार्यप्रति आपत्ति जनाएको हो।
देशकै प्रतिष्ठित होटलको नामै किटेर सञ्चारमाध्यममा समाचार सार्वजनिक गर्दा नेपालको राष्ट्रिय पर्यटन छविमा नकारात्मक असर पर्न सक्ने भन्दै हानले सम्बन्धित सरकारी निकायलाई अनुगमनका नाममा त्रास र अनिश्चितता नबढाउन आग्रह गरेको छ।
पर्यटन क्षेत्रको निर्वाध सञ्चालन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको उल्लेख गर्दै हानले अन्य सरकारी निकायले नियमसंगत रूपमा गर्ने अनुगमनमा समेत पर्यटन मन्त्रालयको जानकारी र समन्वय आवश्यक रहेको जनाएको छ।
होटल तथा आतिथ्य उद्योगमा हुने सरकारी अनुगमनमा आफ्नो विशेषज्ञ सेवा उपलब्ध गराउन संघ तयार रहेको पनि हानले जनाएको छ। होटल उद्योगको संवेदनशीलता, अत्यावश्यक सेवाको प्रकृति र दैनिक सञ्चालनका व्यावहारिक पक्षलाई ध्यानमा राखेर अनुगमन तथा नियमनका कार्य समन्वयात्मक, मर्यादित र तथ्यपरक हुनुपर्ने संघको धारणा छ।
अनुगमनका क्रममा देखिएका विषयलाई एकतर्फी रूपमा सञ्चारमाध्यममा प्रस्तुत गर्दा समग्र होटल उद्योग तथा व्यवसायीको प्रतिष्ठामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नकारात्मक असर पर्न सक्ने हानले जनाएको छ।
होटल उद्योगसँग सम्बन्धित विषयमा अन्तरमन्त्रालय, सम्बन्धित विभाग, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाबीच आवश्यक समन्वय कायम गरी दीर्घकालीन तथा व्यावहारिक समाधान खोज्न राज्यसँग सहकार्य गर्न हान सदैव तयार रहेको जनाएको छ।
राज्यलाई संकट पर्दा समस्या समाधान र सहजीकरणका लागि विगतमा झैँ आगामी दिनमा पनि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै हानले होटलमा मौज्दात एलपी ग्यास नाफा आर्जनका लागि बिक्री–वितरण गर्न वा कालोबजारीलाई प्रश्रय दिन नभई पूर्ण रूपमा व्यावसायिक तथा सेवा प्रयोजनका लागि राखिने स्पष्ट पारेको छ।
ठूला अन्तर्राष्ट्रिय ब्रान्डका होटलका भान्सा विशिष्ट तथा औद्योगिक प्रकृतिका हुने भएकाले तिनको सञ्चालनसम्बन्धी प्राविधिक तथा व्यवस्थापकीय प्रक्रियाको जानकारी लिएर मात्र सरकारी अनुगमन गरिनुपर्ने हानले जनाएको छ। अनुगमनका निर्णय एकतर्फी वा स्वेच्छाचारी हुन नहुनेमा समेत संघले जोड दिएको छ।


