CLI

नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो, ८ अर्ब ८६ करोड नाघ्यो

काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमले ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा यस वर्ष खुद नाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो।

त्यस्तै, कम्पनीको करअघिको मुनाफा पनि ३४.६६ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो।

कम्पनीको EBITDA अर्थात् ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको उक्त रकम यस वर्ष १०.७३ प्रतिशतले बढेको हो।

सञ्चालन आय पनि बढ्यो

टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। यसअनुसार सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढेको छ।

कम्पनीको कुल आय पनि २.६५ प्रतिशतले बढेर ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो।

कम्पनीका अनुसार राजस्व वृद्धिमा जीएसएम सेवातर्फको आम्दानीले महत्वपूर्ण योगदान दिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा जीएसएमतर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ।

ब्याज आय भने घट्यो

ब्याजदर क्रमिक रूपमा घटेका कारण कम्पनीको ब्याज आयमा भने कमी आएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा समीक्षा अवधिमा ब्याज आय करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको टेलिकमले जनाएको छ।

ब्याज आय घटे पनि सञ्चालन आम्दानीमा भएको वृद्धि, लागत व्यवस्थापन तथा अन्य वित्तीय प्रभावका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी (ईपीएस) ४९ रुपैयाँ २५ पैसा रहेको छ।

नेपाल टेलिकमले बढी लागत र तुलनात्मक रूपमा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम क्षेत्रहरूमा समेत सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ। राष्ट्रिय सञ्चार सेवाको जिम्मेवारीका कारण व्यावसायिक प्रतिफल कम हुने स्थानमा समेत सेवा विस्तार गर्नुपर्ने अवस्था रहेको कम्पनीको भनाइ छ।

Leave Your Comment

Related News