CLI
Global College

हिमालयन एभरेस्ट इन्स्योरेन्सको बीमा प्रिमियम संकलन ४ अर्ब ८४ करोडले नाघ्यो

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको बीमा व्यवसायबाट हुने आम्दानीमा सुधार आएको छ । कम्पनीले गत आर्थिक वर्ष (आव) २०८२/८३ मा ४ अर्ब ८४ करोड ६२ लाख ११ हजार रुपैयाँ कुल आर्जित बीमा प्रिमियम संकलन गरेको छ। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा यस्तो प्रिमियम ४ अर्ब ९ करोड ५२ लाख ५९ हजार रुपैयाँ थियो।

यसअनुसार कम्पनीको कुल आर्जित प्रिमियम करिब १८.३३ प्रतिशतले बढेको छ।

त्यस्तै, खुद आर्जित प्रिमियम २ अर्ब ७१ करोड ८६ लाख २० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो रकम २ अर्ब १४ करोड १ लाख ९४ हजार रुपैयाँ थियो। यसमा करिब ३४.९ प्रतिशतको वृद्धि भएको छ।

कम्पनीको कमिसन आम्दानी ६० करोड १ लाख ५१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो आम्दानी ४२ करोड ३७ लाख ७६ हजार रुपैयाँ थियो।

कुल आम्दानी ३ अर्ब नाघ्यो

गत आवमा कम्पनीको कुल आम्दानी ३ अर्ब २ करोड ६० लाख ८७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कुल आम्दानी २ अर्ब ६८ करोड ७५ लाख ३ हजार रुपैयाँ थियो।

कुल आम्दानी बढे पनि कम्पनीको खर्चमा भने उल्लेख्य वृद्धि भएको छ। गत आवमा कुल खर्च २ अर्ब ५४ करोड ७१ लाख २९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो खर्च १ अर्ब ९४ करोड ८० लाख ७ हजार रुपैयाँ थियो।

बीमा व्यवसायको विस्तारसँगै दाबी तथा बीमा सेवासँग सम्बन्धित खर्च बढ्दा नाफामा दबाब परेको देखिन्छ। गत आवमा कम्पनीको नेट क्लेम इन्कर्ड १ अर्ब ५३ करोड ८३ लाख ५७ हजार रुपैयाँ रहेको छ। अघिल्लो आवमा यस्तो रकम १ अर्ब ११ करोड ३५ लाख २४ हजार रुपैयाँ थियो।

गत आवमा कम्पनीले ३३ करोड ७८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा कम्पनीको खुद नाफा ५३ करोड २३ लाख ३५ हजार रुपैयाँ थियो।

बीमा पोलिसी संख्या बढ्यो

कम्पनीले समीक्षा अवधिसम्म ३ लाख ५५ हजार ५०९ वटा बीमा पोलिसी जारी गरेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या २ लाख ८० हजार ४२८ थियो।

त्यस्तै, नवीकरण गरिएको पोलिसी संख्या ७४ हजार ७८ पुगेको छ। अघिल्लो आवमा ६० हजार १५१ वटा पोलिसी नवीकरण भएका थिए।

कम्पनीको कुल सम्पत्ति पनि बढेको छ। असार मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १० अर्ब ७२ करोड ५४ लाख ९५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो सम्पत्ति १० अर्ब १८ करोड ८९ लाख २ हजार रुपैयाँ थियो।

ईपीएस १३.५१ रुपैयाँ
गत आवमा कम्पनीको ईपीएस १३ रुपैयाँ ५१ पैसा रहेको छ। अघिल्लो आवमा यस्तो ईपीएस २१ रुपैयाँ २९ पैसा थियो।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड १५ लाख ७४ हजार रुपैयाँ रहेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सोल्भेन्सी रेसियो ४३८.१० प्रतिशत रहेको छ।

समग्रमा, हिमालयन एभरेस्ट इन्स्योरेन्सले बीमा व्यवसायको विस्तार गर्दै प्रिमियम संकलन र पोलिसी संख्यामा उल्लेख्य वृद्धि गरे पनि दाबी तथा अन्य खर्च बढेका कारण चालु आर्थिक वर्षमा नाफामा भने गिरावट आएको वित्तीय विवरणले देखाएको छ।

Leave Your Comment

Related News