CLI

वाणिज्य बैंकको लाभांश क्षमता बढ्यो, करिब साढे ३८ प्रतिशतसम्म पुग्यो लाभांश वितरण क्षमता

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा अधिकांश वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमता बढेको छ । चारओटा बैंकले लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष (आव) को अपरिष्कृत वित्तीय विवरणअनुसार तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा लाभांश वितरण गर्न सक्ने बैंकको क्षमता बढेको छ । यो सँगै अधिकांश बैंकका लगानीकर्ताले धेरै प्रतिफल पाउने छन् । बैंकहरुको खराब कर्जामा आएको सुधार , आम्दानीमा वृद्धि र सञ्चालन खर्च नियन्त्रण हुँदा लाभांश वितरण क्षमता बढ्ने हो । बिग्रिएका वा खराब कर्जा असुली हुँदा बैंकले यसअघि छुट्याएको शंकास्पद कर्जा व्यवस्थापन फिर्ता गर्नुपर्ने अवस्था आउन सक्छ। यस्तो कर्जा व्यवस्थापन हुँदा बैंकको नाफा र वितरणयोग्य रकम बढ्न जाने हुन्छ । बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर राम्रो हुँदा खुद ब्याज आम्दानी बढेको छ । यसले बैंकको समग्र नाफा बढाउन महत्वपूर्ण भूमिका खेल्छ।

प्रशासनिक, कर्मचारी तथा अन्य सञ्चालन खर्चलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दा पनि बैंकहरुको लाभांश वितरण उच्च देखिएको हो । खर्चमा भएको बचतले बैंकको सञ्चालन नाफा तथा खुद नाफा बढाउन सहयोग पुराएका देखिन्छ । नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्थाअनुसार विभिन्न जगेडा तथा नियामकीय कोषमा रकम छुट्याएपछि बाँकी रहने शुद्ध वितरणयोग्य नाफा उच्च हुनु लाभांश वितरणका लागि महत्वपूर्ण ठानिएको छ । त्यसैले नाफा मात्र बढ्नु पर्याप्त हुँदैन, नियामकीय व्यवस्था पूरा गरेपछि वितरण गर्न मिल्ने नाफा पनि बलियो हुनु भने आवश्यक रहेको बैंकरहरु बताउछन् । गैरबैंकिङ सम्पत्ति र ब्याज सहजरुपमा उठ्दा समेत लाभांश वितरण गर्न सकिने बैंकरहरुको भनाई छ ।

गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरूको औसत लाभांश क्षमता १३.४२ प्रतिशत देखिएको छ । सो विवरण अनुरुप १० वाणिज्य बैंकको लाभांश वितरण क्षमता अघिल्लो आवको तुलनामा बढेको छ, जसमा एभरेष्ट, सिद्धार्थ, सानिमा, नबिल, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंंक, ग्लोबल आइएमइ, नेपाल एसबीआई, प्राइम कर्मसियल, माछापुच्छ्रे र कुमारी बैंक पर्छन् ।

बैंकहरूले आर्जन गरेको वितरणयोग्य नाफाका आधारमा एभरेष्ट बैंक लाभांश वितरण क्षमतामा सबैभन्दा अग्रस्थानमा देखिएको छ । सिद्धार्थ दोस्रो र सानिमा बैंक तेस्रो स्थानमा रहेर क्रमशः २६.१५ प्रतिशत र २०.८५ प्रतिशत लाभांश वितरण क्षमता राखेका छन्।

आवको वित्तीय विवरण प्रकाशित गरेका बैंकहरूमध्ये १६ वटाको वितरणयोग्य नाफा सकारात्मक रहेको छ भने ४ वटा बैंकको यस्तो नाफा ऋणात्मक देखिएको छ। सकारात्मक नाफा भएका बैंकहरूले कुल ३७ अर्ब २३ करोड ७८ लाख रुपैयाँभन्दा बढी वितरणयोग्य नाफा आर्जन गरेका छन्। यी नै बैंकहरुले मात्रै लाभांश वितरणको क्षमता राखेका हुन्।

एभरेष्ट बैंक लाभांश क्षमतामा सबैभन्दा बढी
वित्तीय विवरणअनुसार एभरेष्ट बैंकले ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्दै ३८.३२ प्रतिशत लाभांश क्षमता कायम गरेको छ। अघिल्लो वर्ष यस बैंकको क्षमता ३७.८ प्रतिशत रहेको थियो।

यसैगरी सिद्धार्थ बैंकको लाभांश क्षमतामा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष १३.०४ प्रतिशत क्षमता रहेको सिद्धार्थले गत वर्ष ३ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ वितरणयोग्य नाफासहित २६.१५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ।

सानिमा बैंकले २ अर्ब ८३ करोड १८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरी २०.८५ प्रतिशत लाभांश क्षमता राखेको छ। नबिल बैंकले ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएर १९.१ प्रतिशत लाभांश क्षमता कायम गरेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९१ करोड १५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्दै १९.०४ प्रतिशत लाभांश क्षमता कायम गरेको छ।

अन्य बैंकको वितरणयोग्य नाफा र लाभांशको अवस्था

नेपाल बैंकले गत वर्ष २ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरी १५.८४ प्रतिशत लाभांश क्षमता बनाएको छ। ग्लोबल आइएमई बैंकको लाभांश क्षमता १२.०२ प्रतिशत रहेको छ भने यसको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड ११ लाख रुपैयाँ छ। नेपाल एसबिआई बैंकले १ अर्ब २५ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफासहित ११.०४ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ।

यसैगरी प्राइम कमर्सियल बैंकको १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ वितरणयोग्य नाफा र ९.१ प्रतिशत लाभांश क्षमता रहेको छ। एनएमबि बैंकले १ अर्ब ७५ करोड ९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्दै ९.०८ प्रतिशत लाभांश क्षमता कायम गरेको छ। माछापुच्छ्र्रे बैंकको लाभांश क्षमता ७.५१ प्रतिशत छ भने यसको वितरणयोग्य नाफा ९० करोड ७४ लाख रुपैयाँ रहेको छ। राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरी ६.८९ प्रतिशत लाभांश क्षमता राखेको छ।

त्यस्तै लक्ष्मी सनराइज बैंकको लाभांश क्षमता ६.७९ प्रतिशत र वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ कायम भएको छ। कृषि विकास बैंकले १ अर्ब २६ करोड २२ लाख रुपैयाँ वितरणयोग्य नाफासहित ६.५४ प्रतिशत लाभांश क्षमता राखेको छ। सिटिजन्स बैंकको वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ रहेको छ र यसको लाभांश क्षमता ३.३७ प्रतिशत छ। कुमारी बैंकले ७९ करोड १७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरी ३.०२ प्रतिशत लाभांश क्षमता कायम गरेको छ।

ऋणात्मक नाफाका बैंकहरू

यस वर्ष ५ वटा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ, जसका कारण उनीहरूको लाभांश क्षमता शून्य रहेको छ। एनआइसी एशिया बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँले ऋणात्मक छ।

त्यस्तै, हिमालयन बैंकको ९ अर्ब ८४ करोड १ लाख, प्रभु बैंकको ६ अर्ब ३१ करोड ३१ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ। अघिल्लो वर्षको तुलनामा सिद्धार्थ र सानिमा बैंकको वित्तीय सूचकमा सुधार देखिए पनि अन्य केही बैंकहरूको वितरणयोग्य नाफामा दबाब कायम रहेको छ।

बढ्दो लाभांश क्षमता र लाभांशदरले गर्दा वाणिज्य बैंकको शेयरमा आकर्षण बढ्न सक्ने शेयर लगानीकर्ता बताउँछन् । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थालाई असारसम्मको वित्तीय विवरणमा साउन अन्तिमसम्म उठ्ने ब्याजसमेत जोड्न सक्ने सुविधा दिएको छ ।

साउन मसान्तसम्म थप ब्याज उठेमा बैंक तथा वित्तीय संस्थाहरूले परिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा यो ब्याज पनि समावेश गर्न पाउने छन् । सोही कारण अहिले प्रकाशित भएको नाफा रकम र लाभांश क्षमतामा धेरथोर परिवर्तन हुनसक्ने सम्भावना छ ।

Leave Your Comment

Related News