CLI

अबदेखि सरकारी कर्मचारीलाई अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी हुने

काठमाडौं ।  सरकारी कर्मचारीले अबदेखि महिनामा दुईपटक तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धमासिक रूपमा तलब, भत्ता भुक्तानी गर्न व्यवस्था मिलाइएको जनाएको छ।

महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाले २०८३ भदौ १ गते पत्र जारी गर्दै संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्न निर्देशन दिएको हो।

अर्थ मन्त्रालयका अर्थमन्त्रीस्तरीय २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शनअनुसार यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ। अर्धमासिक तलब भुक्तानीका लागि आवश्यक प्रणालीगत व्यवस्था समेत मिलाइसकिएको पत्रमा उल्लेख छ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीले तलबसँगै बजेट वक्तव्य २०८३/८४ मा व्यवस्था गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत अर्धमासिक रूपमा प्राप्त गर्नेछन्।

महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई सम्बन्धित निकायका कर्मचारीलाई सोहीअनुसार तलब तथा भत्ता भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

त्यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्यक्षेत्रभित्र रहेका संघीय सरकारी निकायबाट अर्धमासिक तलब भुक्तानीका लागि निकासा माग भई आएमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ।

महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत शुभाष चन्द्र अर्यालले हस्ताक्षर गरेको पत्रमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित कार्यालयलाई अनुरोध गरिएको हो।

Leave Your Comment

Related News