CLI
Global College

‘५० वर्षको नाडा अटो शो ०२६’ सवारी साधान खरिद बिक्रीमात्र होइन उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश हो

नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र होइन, उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चका रूपमा स्थापित छ। यही कारण १८औँ नाडा अटो शो २०२६ लाई नाडाले आफ्नो ५०औँ स्थापना वर्षको स्वर्ण जयन्तीसँग जोडेर अझ फराकिलो सन्देश दिने गरी तयारी गरेको छ।

भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने अटो शोमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ।

तर यसपटक नाडाले अटो शोको परिचय गाडी प्रदर्शनमा मात्र सीमित गर्न खोजेको छैन। रोबोटिक्स, एआई, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई प्रदर्शनीको केन्द्रमा राखिएको छ।

५०औँ वर्षको अवसरमा आयोजना हुन लागेको यो संस्करणले नाडाको पाँच दशकको यात्रा र अबको अटोमोबाइल क्षेत्रबीचको सम्बन्ध देखाउने प्रयास गर्ने तयारी गरेको छ । यही समयमा इक्विटी नेपालले विशेष बनाउन लागिएको नाडा अटो सोको बारेमा विभिन्न विषय जान्ने प्रयास गर्ने क्रममा नाडाका महासचिव मिलन बाबु मल्लसँग कुराकानी गरिएको  छ । प्रस्तुत छ  मल्लसँग गरिएको   कुराकानी :

तपाईहरुको यात्रा स्वर्ण जयन्तीसम्म आइपुग्दा केहि फरक गर्न खोज्नु भएको हो , नाडाको पहिचानलाई अझै व्यापक बनाउन लाग्नु भएको हो ?

प्रश्न एकदम सही छ , एक शब्दमा भन्नुपर्दा अब ‘नाडा अटो शो’ सवारी साधान हेर्ने ठाउँ मात्र रहेन । विश्वको सँगै नेपाालको सवारी साधान (अटोमोबाइल) क्षेत्र अहिले तीव्र परिवर्तनको चरणमा छ। पेट्रोल–डिजेलबाट विद्युतीय सवारीसाधानतर्फको परिवर्तन भएको छ । सवारी साधान पनि प्रविधियुक्त अझै भन्ने हो भने ‘सेन्सर, अटोमेसन र कृत्रिम बौद्धिकता (एआई)को प्रयोगले सवारी साधनलाई अत्याधुनिक बनाएको छ । साथै सवारीसाधानको आन्तरिक र बाह्य अत्याधिक राम्रो संरचना तथा इन्जिनियरिङले सवारी साधान सौखका साथै अनिवार्य बन्न पुगेको छ ।
हाल अटोमोबाइले प्रविधि, मोबिलिटी, रोजगारी, वित्तीय सेवा र उद्योगसँग जोडिएको ठूलो अर्थ प्रणाली हो । त्यसैले अटो शोमा पनि त्यही परिवर्तन देखिनुपर्छ भन्ने हाम्रो सोच हो । यही सोचअनुसार यसपटक दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट नाडा अटो सोमा राखेका छौं । यसबाट प्रदर्शनीस्थलमा आउने सर्वसाधारण तथा उपभोक्ताहरुले प्रविधिको उच्तम आविष्कार अवलोकन गर्नुको साथै सवारी साधानको अत्याधुनिक इन्जिनियरिङ हेर्न पाउने छन् । साथै कार, जीप, मोटरसाइकलको इन्जिन, इन्जिन क्षमता, भित्री भागको आर्कषक इन्जिनियरिङका साथै सवारी साधान भित्र बसेर यात्रा गर्दा पाउने सकारात्मक अनुभुति समेत मेलामा गर्न पाउने छन् ।
सवारी साधानको टायर देखि लिएर हरेक पाटपुर्जामा भएको विकासलाई नेपालीले नजिकबाट अनुभव गर्न पाउछन्, जसले एसम्बलतर्फ लागेको नेपालका सवारी साधान उद्योगलाई समेत प्रेरणा बन्न देख्छौं ।

तपाईले भने जस्तो प्रर्दशनीस्थलमा सवारी साधानको सम्पूर्ण जानकारी सहजै लिन सकिन्छ ?

सवारीसाधनमा राखिएको क्युआर कोड स्क्यान गर्दा एआई प्रविधिको प्रयोगमार्फत सम्बन्धित गाडीको विवरण डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरेका छौं । “हामीले प्रदर्शनमा सहभागी हुने व्यक्तिहरुलाई सवारी साधानमात्र देखाएर पठाउने उद्देश्य राखेका छैनौं , उनीहरुले सवारी साधानको बारेमा विस्तृतमा बुझुन, तुलना गरुन् र प्रविधिले भविष्यमा हाम्रो मोबिलिटीलाई कहाँ लैजाँदैछ भन्ने अनुभव गरुुन भन्ने मनसाय हो ।

सरल भाषामा भन्दा प्रविधिलाई प्रदर्शनको आकर्षणका रूपमा मात्र नभई दर्शकको अनुभव सहज बनाउने माध्यमका रूपमा प्रयोग गर्न खोजिएको हो ।

यी बाहेक नाडा अटो साले धेरै उपभोक्ता तथा सर्वसाधारणाको सवारी साधान प्रतिको मोहलाई सन्तोष प्रदान गर्ने अन्य केहि विशेषता रहेको छ, जसले सोलाई पनि अन्य भन्दा फरक छ भन्ने भान पार्ने ?

शतप्रतिशत छ, त्यो हो ‘मेड इन नेपाल’ । अटो सोलाई विशेष बनाउने क्रममा उपभोक्तालाई सन्तोष दिने क्रममा ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन हो । जुन अटो शोको इतिहासमै पहिलोपटक छुट्टै प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकताका साथ प्रदर्शन गरिँदैछ।

नेपालमै बनेका मोटरसाइकल, स्वदेशमा एसेम्बल भएका स्कुटर तथा बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पाट्र्सलाई पनि यहाँ राखिने छ ।

‘मेड इन नेपाल’ केवल एउटा प्याभिलियन होइन, नेपाली उद्योगबारे धारणा बदल्ने प्रयास हो। नेपालमा उत्पादन सम्भव छैन भन्ने सोचलाई हामीले विस्तारै बदल्नुपर्छ। स्वदेशमा उद्योग बस्नु उद्योग तथा व्यवासायीको लागि मात्र फाइदाको विषय होइन । यसले मुलुकमा भएका शिक्षित तथा सीपयुक्त जनशक्तिको प्रयोग, रोजगारी सिर्जना र आन्तरिक अर्थतन्त्रको विकास महत्वपूर्ण हो । स्वदेश उत्पादनले नेपाली मुद्रा विदेश जानबाट रोक्नुका साथै एउटा उद्योगबाट कुन कुन क्षेत्रका सयौं जनशक्ति कसरी जोडिन सम्भव हुन्छ भनि देखाउनु समेत हो । त्यसैले ‘मेड इन नेपाल’लाई अटो शोमा छुट्टै स्थान दिनु हाम्रो प्राथमिकता हो ।

त्यसो भए तपाईको विचारमा ‘मेड इन नेपाल’ को योगदानलाई जानकारी तथा वृद्धि गराउनु आवश्यक रहेको छ ?

अटो शोको मूल नारा पनि ‘उद्योगदेखि रोजगारसम्म’ राखिएको छ । अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ। प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसको रोजगारीसँग जोडिएको क्षेत्र भनेको नाडा हो ।

यी तथ्यहरुलाई हेर्नुहोस्, अध्ययन गर्नुहोस् र विचार तथा विश्लेषण गरी नाडा अटो सो सवारी साधानको खरिद बिक्री मात्र बुझदा गलत हुनेछ ।
अटोमोबाइल क्षेत्रसँग जोडिएको रोजगारी र राजस्वलाई हेर्दा यो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो। त्यसैले उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउन नीति, लगानी, पूर्वाधार र प्रविधि सबै पक्षमा सँगसँगै काम गर्नुपर्छ भन्ने मान्यता मेरो र नाडासँग जोडिएका सम्पूर्ण व्यक्तिहरुको हो । यसमा अभै आन्तरिक उत्पादन र बजार विस्तार तथा त्यसलाई उद्योगको रुपमा अझै विकास गर्नु हाम्रो उद्देश्य हो । यी सबै कुराले गर्दा
‘मेड इन नेपाल’ को योगदानलाई सबै व्यवसाय, सरकार, कर्मचारी र नागरिकमाझ समेत जानकारी गराउनु आवश्यक विषय हो यसमा द्धिविधा मान्नुपर्ने ठाँउ छैन । आन्तरिक सवारी साधान उद्योगको विकासकालागि नीतिगत, व्यवहारिक र नागरिक सँगको समेत बहसको आवश्यकता रहेको छ ।

त्यसो भए यसपटकको नाडा अटो सोमा नीतिगत बहसले ठाँउ पाउने सम्भावना कस्ता रहेको छ ?
पहिलो कुरा यसपटकको अटो शोमा विद्युतीय सवारीसाधनको उपस्थिति उल्लेख्य रहनेछ । विभिन्न ब्रान्डले नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्। स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियम पनि आयोजना हुनेछ । ईभीको बजार विस्तारसँगै यसको नीतिगत बहस गर्नुपर्ने अत्यन्त आवश्यक भइसकेको छ भने ढिला पनि हुँदै गएको मेरो बुझाई रहेको छ ।

ईभी आयात तथा प्रयोगमा विश्वको दोस्रो स्थानमा नेपाल रहेको छ तर त्यसका लागि चार्जिङ पूर्वाधार, प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र स्थिर नीतिको आवश्यकता रहेको छ । अबको बहस यही समग्र प्रणाली कसरी बलियो बनाउने भन्नेमा हुनुपर्छ । बिजुलीको उत्पादन बढ्दै गएको छ इभीका लागि आन्तरिक उर्जा खपत हुने पनि स्थान रहेको छ त्यसैले ईभीका लागि नीतिहरु आवश्यक छ । उर्जा उत्पादन र खपत लगायतका सम्पूर्ण विषयहरु अध्ययन गरी नीति बनाउनु आवश्यक छ । यसले खर्बको पेट्रोलियम पदार्थ आयातलाई कम गरी उर्जा खपत बढाई व्यापार घाटालाई समेत राहत होस् भन्ने हाम्रो सोच रहेको छ ।

यतिको विशेषता र महत्वपूर्ण योगदान दिने हिसाबले तयारी गरेको सोको मुख्य लक्ष्य बनेको आगन्तुक तथा उभपोक्ता हुन उनीहरु माथि तपाईहरुको कस्तो अपेक्षा रहेको छ ?

६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख जना आगन्तुक आउने अपेक्षा गरिएको छ। त्यसैले करिब २ लाख जनालाई व्यवस्थापनको दायित्व पनि हाम्रो हो , जसलाई सहज , सरल र सुविधायुक्त बनाउनुपर्ने छ । प्रदर्शनीस्थलमा ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्क रहेका छन् ,जसले उनीहरुलाई पूर्ण रुपमा सहयोग गर्नेछ ।

भीड व्यवस्थापनलाई ध्यान दिँदै नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्क तथा अन्य स्थानमा पार्किङको व्यवस्था गरिनेछ। बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ। सीसीटीभीमार्फत् प्रदर्शनस्थलको निगारानी गरी सहजीकरण गरिने छ ।
आगन्तुकको सहजताको लागि खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरेको छौं , खल्ती हाम्रो आधिकारिक टिकटिङ पार्टनर समेत रहेको छ ।

नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी यात्राको एउटा चित्र देखिन पाउने नाडा अटो सोको लक्ष्य एउटा सफल अटो शो गर्नु मात्र होइन ५० वर्षमा नाडाले जहाँसम्म यात्रा गरेको छ, त्यसबाट अब नेपाली अटोमोबाइल उद्योगलाई कहाँ लैजाने भन्ने बहसको सुरुवात गर्नु दायित्व पनि हो । उद्योग बलियो भयो भने उद्योग तथा व्यवसायसँगै रोजगारी र अर्थतन्त्र पनि बलियो हुन्छ, भन्ने सन्देश दिनु पनि हाम्रो लक्ष्य हो ।

Leave Your Comment

Related News