CLI
Global College

’कृति अवार्ड’ मा अध्यक्ष राजकर्णिकारले भने : कोरोना महामारी र आर्थिक मन्दीले विज्ञापन क्षेत्र निकै कठिन अवस्थामा पुगेको छ

काठमाडौं । मिडिया अलायन्स नेपालका अध्यक्ष भास्कर राजकर्णिकारले कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण नेपाली मिडिया तथा विज्ञापन क्षेत्र निकै कठिन र न्यूनतम बिन्दुमा पुगेको बताएका छन् । मंगलबार राजधानीमा विज्ञापन संघ (आन) द्वारा आयोजित ’कृति अवार्ड’ को नयाँ संस्करणको घोषणा कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण नेपाली मिडिया तथा विज्ञापन क्षेत्र निकै कठिन र न्यूनतम बिन्दुमा पुगेको बताउदै अध्यक्ष राजकर्णिकारले दर्शक, श्रोता र पाठकको रुचि डिजिटलतर्फ मोडिएको तर नेपाली मिडियाले समयमै आफूलाई सोही अनुसार रूपान्तरण गर्न नसकेको स्वीकार गरे । उनले विज्ञापन क्षेत्रमा नीतिगत चुनौती रहेको बताए । तीन दशकपछि राष्ट्रिय विज्ञापन नीति आए पनि त्यो वर्तमान डिजिटल युगका आवश्यकता पूरा गर्न पुराना भइसकेको र सरकारी नीतिहरू मिडियामैत्री नभएको अध्यक्ष राजकर्णिकारको टिप्पणी रहेको छ । ‘ मुलुकको विज्ञापन क्षेत्रमा सरकारी नीति र नीतिको कमजोरी रहेको छ । तीन दशकको पर्खाइपछि राष्ट्रिय विज्ञापन नीति त आयो, तर आउँदासम्म त्यसका अक्षरहरू पुराना भइसकेका थिए । वर्तमान विश्वव्यापी सामाजिक सञ्जाल र डिजिटल सञ्चारको गति अनुसारको नीति नहुँदा उद्योग अन्योलमा परेको छ ,’ उनले भने,‘ सरकार “सञ्चार माध्यम र विज्ञापन आवश्यक छैन“ भन्ने जस्तो सोच र नीतिबाट ग्रसित रहेको र सञ्चार उद्योगलाई सबल बनाउन आवश्यक सहयोग गरेको पाइदैन ।’

अध्यक्ष राजकर्णिकारले हालको समस्या समाधानका लागि सामूहिक ऐक्यबद्धता र प्रतिबद्धताको आवश्यक रहेको बताए । विज्ञापन उद्योगको पुनरुत्थान र सिर्जनाको सम्मानका लागि सबै सरोकारवाला संघ–संस्थाहरू (मिडिया सोसाइटी, मिडिया अलायन्स, अकुराब, बान, र राष्ट्रिय प्रसारण संघ) एकजुट हुनु आवश्यक रहेको उनले बताए ।

उनले कृति अवार्डलाई सम्झने क्रममा कृति अवार्ड सन् २००३ मा सुरुवात भएको र सुरुवातको वर्ष ५ वटा विधाहरूमा १५० वटा आवेदनहरू परेका थिए र ३० वटा मनोनयनहरूसहित कार्यक्रम आयोजना गरिएको बताए । समयसँगै यसको स्वरूप र महत्व परिमार्जन हुँदै गए पनि विज्ञापनको सिर्जनशीलता र उत्कृष्टतालाई सम्मान गर्ने यसको मूल धरातल भने उस्तै रहेको अध्यक्ष राजकर्णिकारको भनाई रहेको छ ।
‘यो अवार्ड विज्ञापन संघको मात्र नभई सम्पूर्ण सञ्चार चक्र (विज्ञापन सर्जक, एजेन्सी, सञ्चार माध्यम, लक्षित समूह र सरकारी नीतिहरू) को संयुक्त उत्सव हो,’ उनले भने ,‘सार्वजनिक गरिएको पहिलो भिडियो (प्रोमो-ग्राफिक) ले आगामी कृति अवार्डको भव्यता, स्वरूप र गहिराइको सङ्केत गरेको छ । टेलिभिजन, रेडियो तथा अनलाइन माध्यमहरूबाट एकसाथ प्रत्यक्ष वा रेकर्डेड प्रसारण गरी यसलाई अझ बृहत् बनाउने योजना रहेको छ ।’

उनले यो कृति अवार्डको मञ्चबाट केवल छलफल मात्र नभई नेपाली विज्ञापन र सञ्चार क्षेत्रको सुधारका लागि एउटा ठोस सङ्कल्प र व्यावसायिक अभ्यासको स्थापना गर्न आह्वान गरे ।

Leave Your Comment

Related News