RE
Global College

बाढी प्रभावित लघुवित्तका शाखा पूर्वस्वीकृतिबिना स्थानान्तरण वा समायोजन गर्न पाइने राष्ट्र बैंकद्वारा सहजीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै आएको विनाशकारी प्राकृतिक विपद्‌बाट प्रभावित रसुवालगायतका जिल्लाहरुमा लघुवित्त वित्तीय संस्थाहरूको सेवा प्रवाहलाई निरन्तरता दिन विशेष सहजीकरण गरेको छ।

केन्द्रीय बैंकले राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकका अनुसार २०८३ भदौमा आएको बाढीपहिरोका कारण क्षति पुगेका वा भौतिक रूपमा सञ्चालन गर्न असहज भएका लघुवित्त संस्थाका शाखा कार्यालयहरूले अब केन्द्रीय बैंकको पूर्वस्वीकृति नलिईकनै सेवा सुचारु गर्न सक्नेछन्।

नयाँ व्यवस्था अनुसार प्रभावित शाखाहरूलाई संस्था स्वयंले पायक पर्ने अर्को स्थानमा स्थानान्तरण गर्न वा नजिकैको अर्को शाखामा समायोजन (मर्ज) गरी तत्काल बैंकिङ सेवा सञ्चालन गर्न पाउने छुट दिइएको छ।

यसरी पूर्वस्वीकृतिबिना शाखा स्थानान्तरण वा समायोजन गरी सेवा सञ्चालन गरिएको भए सोको जानकारी भने ७ दिनभित्र नेपाल राष्ट्र बैंकलाई गराउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। विपद्‌को घडीमा ग्रामीण तथा प्रभावित क्षेत्रका सर्वसाधारणलाई वित्तीय सेवाबाट वञ्चित हुन नदिन राष्ट्र बैंकले यो खुकुलो नीति ल्याएको हो।

NECO

Leave Your Comment

Related News