CLI
Global College

ग्याससहित दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सरकार प्रतिबद्ध

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्याससहित दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सामान्य बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले काठमाडौंमा आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक अन्तरक्रियामा मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले आपूर्ति व्यवस्था सहज बनाउन सरकार सक्रिय रहेको बताएका हुन्।

बाढीपहिरोका कारण यातायातका मुख्य मार्ग अवरुद्ध हुँदा आपूर्तिमा केही समस्या देखिए पनि त्यसलाई समाधान गर्न सरकार क्रियाशील रहेको सुवेदीले बताए। पृथ्वी राजमार्गलगायतका मुख्य सडकखण्ड केही दिनभित्रै सञ्चालनमा आउने अवस्थामा रहेकाले व्यवसायीलाई संकटको समयमा मूल्यवृद्धि नगर्न र व्यावसायिक नैतिकता कायम गर्न उनले आग्रह गरे।

‘केही दिन सडक अवरुद्ध भएको बहानामा मूल्य बढाएर नाफा कमाउनेभन्दा पनि मानवीय र व्यावसायिक उत्तरदायित्व बुझिदिन म व्यवसायीहरूलाई अनुरोध गर्दछु,’ सुवेदीले भने।

सरकारले आवश्यक परे जुनसुकै उपाय अपनाएर भए पनि बजारको आपूर्ति व्यवस्था सामान्य बनाउने उनले स्पष्ट पारे।

खाद्यान्न, चिनी, तेल तथा दालजस्ता आयातित वस्तुको अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा परेको प्रभावका कारण मूल्यमा केही चाप परेको उनले स्वीकार गरे। तर बजारमा मौज्दात रहेका पुराना सामान पुरानै मूल्यमा बिक्री गर्नुपर्नेमा उनले जोड दिए।

नयाँ आयात हुने सामानको हकमा भने बिलिङका आधारमा मूल्य निर्धारण हुने उनले बताए। कृत्रिम अभाव सिर्जना गर्ने तथा अस्वाभाविक रूपमा मूल्य बढाउने व्यवसायीमाथि कडा निगरानी राखिने उनको भनाइ छ।

दसैँलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा हुनसक्ने गैरव्यावसायिक गतिविधि नियन्त्रण गर्न सरकारले बजार अनुगमनलाई समेत तीव्रता दिएको छ। सुवेदीका अनुसार काठमाडौं उपत्यकामा मात्रै अघिल्लो दिन एकै दिन ४० भन्दा बढी व्यावसायिक फर्ममा अनुगमन गरिएको थियो।

उनका अनुसार बजार अनुगमनका लागि थप टोली परिचालन गरिएको छ भने जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयमार्फत पनि निगरानी बढाइएको छ।

आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकारबीच समन्वय र सञ्जाल आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

व्यावसायिक आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।

Leave Your Comment

Related News