CLI
Global College

तयारी पोशाक उद्योग संघको करिब साढे ३३ लाख बाढी पीडितलाई सहयोग

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका लागि करिब साढे ३३ लाख आर्थिक सहयोग गरेका छन् । संघ तथा संघका सदस्यहरूको तर्फबाट बाढी प्रभावितका लागि ३३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका हुन् ।

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट बिहीबार अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ३३ लाख ३३ हजार ३३३ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । साथै, संघका सदस्य उद्योगहरूले समेत आ–आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेका छन्।

त्यसैगरी, बाढीपीडित तथा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई ध्यानमा राखी संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताहरु समेतको सहयोगमा लत्ता कपडा, तयारी पोशाक र अन्य आवश्यक सामाग्रीहरु राहतस्वरूप वितरण गरिरहेको छ।  विपद् वाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनतर्फ फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरहरूको संरक्षण र सिर्जनामा समेत विशेष ध्यान दिन आवश्यक छ।

संघले विपद्को यस घडीमा प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत, पुनर्स्थापना तथा रोजगारी पुनःस्थापना लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायहरूबाट भइरहेको प्रयासप्रति संघले  प्रशंसा व्यक्त गरेको छ ।

तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल तयारी पोशाक उद्योग संघ गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, वेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा घाइते र प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Leave Your Comment

Related News