काठमाडौं । नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
कम्पनीले साउन २० गते क्रिकेट खेलाडी कुशल भुर्तेललाई र आज भदौ २५ गते बिहीबार नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।
सो कार्यक्रममा आफ्नो धारणा राख्दै प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वहरूसँगको आबद्धताले युवा पुस्ता लगायत आम नागरिकसँग टेलिकमको सम्बन्ध अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरिन् ।
उनले यी साझेदारीले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्न, व्यवसाय प्रवर्द्धन गर्न तथा सेवासुविधाको प्रचारप्रसारमा नयाँ ऊर्जा थप्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिन् ।
नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो र स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको बताए ।
उनीहरूले यस सम्झौताका लागि नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कम्पनीको सामाजिक छवि संरक्षण, सेवासुविधाको प्रवर्द्धन, बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
ब्रान्ड एम्बेसडरको रूपमा उनीहरूले स्वदेश तथा विदेशमा रहेका आम ग्राहकवर्गमा कम्पनीले हाल प्रदान गरिरहेका विभिन्न सेवा–सुविधाको प्रचार–प्रसार तथा कम्पनीको ब्रान्ड प्रवर्द्धन सम्बन्धी कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने टेलिकमका प्रवक्ता डा. कमल लामिछाने बताए ।



