काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अवधिमा सुनको मूल्यमा ४ हजार ५०० रुपैयाँको गिरावट आएको हो ।
असोज २ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ लाख भन्दा माथि थियो भने यो साताको अन्तिम कारोबार शुक्रबारसम्म आइ पुग्दा सुनको मूल्य ३ लाख बाट ओरालो लागेको छ । असोज २ गते तोलाको ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य असोज ९ गते आइ पुग्दा तोलाको २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यो साताको कारोबार हुने पहिलो दिन असोज ४ गते आइतबारसुनको मूल्य २ हजार १०० रुपैयाँले बढ्यो । उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज ५ गते सोमबार भने सुनको मूल्य घट्यो । त्यो दिन सुनको मूल्य तोलाको १ हजार ३०० रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, असोज ६ गते मंगलबार पनि सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेर बजारमा प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज ७ गते बुधबार भने प्रतितोलामा १०० रुपैयाँले बढेर सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भयो ।
त्यस्तै, असोज ८ गते बिहीबार पनि सुनको मूल्य घट्यो । उक्त दिन ३ हजार २०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन असोज ९ गते शुक्रबार पनि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।



