RE
Global College

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा महिनामा एकपटक स्वास्थ्य परीक्षण अनिवार्य

काठमाडौं । स्थानीय तहमा सञ्चालन हुने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सेवा लिने ज्येष्ठ नागरिकको कम्तीमा महिनामा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ। सरकारले तयार गरेको ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि, २०८३’ मा यस्तो व्यवस्था गरिएको हो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको कार्यविधिले स्थानीय तहमा स्थापना तथा सञ्चालन हुने दिवा सेवा केन्द्रको सेवा, पूर्वाधार, बजेट, अनुगमन र प्रतिवेदनसम्बन्धी व्यवस्था गरेको छ।

कार्यविधिअनुसार घरमा एक्लोपन महसुस गर्ने वा नियमित हेरचाह आवश्यक पर्ने ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य परीक्षण तथा परामर्शलगायत सेवा उपलब्ध गराइनेछ। दिवा सेवा केन्द्र कम्तीमा हप्ताको पाँच दिन सञ्चालन गर्नुपर्नेछ।

महिनामा एकपटक स्वास्थ्य परीक्षण

दिवा सेवा केन्द्रमा स्वास्थ्य सेवालाई प्रमुख सेवाका रूपमा समेटिएको छ। केन्द्रमा सेवा लिन आउने ज्येष्ठ नागरिकको कम्तीमा महिनामा एकपटक चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

स्वास्थ्य परीक्षणका लागि सरकारी, निजी वा सामुदायिक अस्पतालका चिकित्सकको सेवा लिन सकिनेछ। आवश्यकताअनुसार औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन सहजीकरण गर्नुका साथै स्वास्थ्यलगायत अन्य विषयमा परामर्श सेवा दिनुपर्नेछ।

केन्द्रमा ज्येष्ठ नागरिकका लागि स्वच्छ खाजा तथा तातो र चिसो पिउने पानीको व्यवस्था गर्नुपर्नेछ।

भवनदेखि शौचालयसम्म ज्येष्ठ नागरिकमैत्री

दिवा सेवा केन्द्र सञ्चालन हुने भवन तथा परिसर ज्येष्ठ नागरिकमैत्री हुनुपर्नेछ। ज्येष्ठ नागरिकलाई सहज रूपमा आवतजावत गर्न सक्ने गरी शौचालय, भान्सा र र्‍याम्पको व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

आवतजावत गर्ने स्थानमा समाउन मिल्ने रेलिङलगायत आवश्यक संरचना निर्माण गर्नुपर्नेछ। यसबाट हिँडडुलमा कठिनाइ भएका ज्येष्ठ नागरिकले समेत सहज रूपमा सेवा लिन सक्ने अपेक्षा गरिएको छ।

ज्येष्ठ नागरिकको इच्छाअनुसार कम्तीमा तीन महिनामा एकपटक धार्मिक तथा सांस्कृतिक स्थल, पार्क, वनभोज वा अन्य मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउन सकिने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।

अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण

कार्यविधिले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र जीवन अनुभवलाई नयाँ पुस्तासम्म पुर्‍याउने कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ।

यसका लागि प्रवचन, अन्तरक्रिया तथा अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। यस्ता कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवको अभिलेखसमेत राख्नुपर्ने व्यवस्था गरिएको छ।

ज्येष्ठ नागरिकले आफूसँग भएको सीप प्रयोग गरी सामग्री उत्पादन, निर्माण वा बिक्री गर्न चाहेमा केन्द्रले आवश्यक सहजीकरण गर्नुपर्नेछ। यस व्यवस्थाले ज्येष्ठ नागरिकको सीपलाई सक्रिय रूपमा उपयोग गर्ने तथा उनीहरूको सामाजिक सहभागिता बढाउने उद्देश्य राखेको छ।

इच्छा विपरीत कार्यक्रममा सहभागी गराउन नपाइने

दिवा सेवा केन्द्रले सञ्चालन गर्ने कुनै पनि कार्यक्रममा ज्येष्ठ नागरिकलाई उनीहरूको इच्छाविपरीत सहभागी गराउन नपाइने व्यवस्था गरिएको छ।

सेवा सञ्चालन गर्दा ज्येष्ठ नागरिकको गरिमा, सुरक्षा, रुचि र स्वेच्छालाई प्राथमिकता दिनुपर्नेछ।

कार्यक्रम सञ्चालनका लागि संघीय सरकारले स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउनेछ। सम्बन्धित आर्थिक वर्षमा खर्च हुन नसकेको अनुदान रकम भने संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था छ।

१५ दिनभित्र प्रगति विवरण बुझाउनुपर्ने

कार्यक्रमको अनुगमन तथा मूल्यांकन संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायले गर्न सक्नेछन्।

स्थानीय तहले प्रत्येक आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र कार्यक्रमको भौतिक तथा वित्तीय प्रगति मन्त्रालयमा पठाउनुपर्नेछ। प्रतिवेदनमा सेवा लिने ज्येष्ठ नागरिकको विवरण, कार्यक्रमका मुख्य उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती र सुधारका सुझाव समेट्नुपर्नेछ।

नयाँ कार्यविधिले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई केवल भेटघाट वा समय बिताउने स्थानका रूपमा नभई स्वास्थ्य सेवा, सामाजिक सहभागिता, मनोरञ्जन, सीप उपयोग तथा पुस्ताबीच ज्ञान हस्तान्तरण गर्ने बहुआयामिक केन्द्रका रूपमा सञ्चालन गर्ने आधार तयार गरेको छ।

NECO

Leave Your Comment

Related News