Global College

आईपीओ निष्कासनको अनुमति माग्दै दुई जलविद्युत कम्पनी, ८० करोडभन्दा बढीको आवेदन

काठमाडौं । सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेका दुई जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्।

दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्। मिडिल मोदी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दासहित सर्वसाधारणका लागि ३० करोड ७७ लाख रुपैयाँ बराबरको ३० लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्न मंसिर २ गते आवेदन दिएको हो।

बोर्डका अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ८९ पैसा रहेको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

त्यस्तै, सिद्धि हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आईपीओ निष्कासन गर्न सोही दिन आवेदन दिएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७ पैसा रहेको बोर्डले जनाएको छ। यसको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

दुवै कम्पनीले जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युतको व्यावसायिक उत्पादन तथा बिक्री गर्दै आएका छन्।

मिडिल मोदी हाइड्रोपावरले पर्वत जिल्लामा १८ मेगावाट क्षमताको मध्य मोदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस ८ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ।

त्यस्तै, सिद्धि हाइड्रोपावरले इलाम जिल्लामा १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८३ वैशाख २४ गतेदेखि विद्युत उत्पादन तथा बिक्री गर्दै आएको छ।

दुवै कम्पनीको आवेदन स्वीकृत भएमा ८० करोड ७७ लाख रुपैयाँ बराबरका कुल ८० लाख ७७ हजार कित्ता सेयर प्राथमिक बजारमा आउनेछन्।

NECO

Leave Your Comment

Related News