काठमाडौँ । देशभरका ८५ प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा पुगे पनि सूचना प्रविधिको प्रयोगका लागि आवश्यक आईसीटी प्रयोगशाला विस्तार भने निकै कम विद्यालयमा भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार मुलुकभरका सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ। तर आईटी तथा आईसीटी प्रयोगशाला पुगेका विद्यालयको संख्या २९ दशमलव ६ प्रतिशत मात्रै छ।
मन्त्रालयका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत २०७७ सालदेखि ४ हजार ६ सय ८ विद्यालयमा आईसीटी प्रयोगशाला निर्माण गरिएको छ। विद्यालयमा इन्टरनेटको पहुँच बढे पनि त्यसलाई शिक्षण सिकाइमा प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक पूर्वाधार अझै सबै विद्यालयमा पुग्न सकेको छैन।
विद्यालयको विद्युत् पहुँच पनि पूर्ण भएको छैन। मन्त्रालयका अनुसार वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्यालयमा विद्युत् सुविधा पुगेको छ। विद्युत् र इन्टरनेट दुवैको भरपर्दो पहुँच नभएसम्म डिजिटल शिक्षाको विस्तारमा समस्या हुने देखिन्छ।
मुलुकभर धार्मिक प्रकृतिका विद्यालयसमेत गरी ३५ हजार ९ सय ५१ विद्यालय सञ्चालनमा छन्। तीमध्ये २७ हजार १० सामुदायिक विद्यालय हुन्।
विद्यालय पूर्वाधारतर्फ भने भूकम्पपछिको पुनर्निर्माण जारी छ। २०७२ सालको भूकम्पपछि पुनर्निर्माणअन्तर्गत ७ हजार ६ सय ६७ विद्यालयको निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। थप १४ विद्यालय निर्माणाधीन छन्।
पश्चिम नेपालमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयमध्ये सरकार तथा विभिन्न विकास साझेदारको सहयोगमा २ सय १६ विद्यालयको पुनर्निर्माण भइरहेको छ।
त्यस्तै, २ हजारभन्दा बढी विद्यार्थी भएका ३६ विद्यालयमा थप पूर्वाधार विकासअन्तर्गत १२ कोठे भवन निर्माण भइरहेको मन्त्रालयले जनाएको छ।
विद्यालयमा इन्टरनेटको पहुँच विस्तार भए पनि आईसीटी प्रयोगशाला र विद्युत् सुविधा अझै सीमित रहेकाले डिजिटल शिक्षाका लागि आवश्यक पूर्वाधारलाई एकसाथ विस्तार गर्नुपर्ने अवस्था देखिएको छ।




