RE
Global College

अन्तरप्रदेश सार्वजनिक सवारीको भाडादर समायोजन: तराई र पहाडका रुटहरूमा भाडा बढ्यो, तोकिएभन्दा बढी लिए कारबाही हुने

काठमाडौं ।  यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरी अन्तरप्रदेश रुटहरूमा नयाँ भाडादर लागू गरेको छ। स्वचालित प्रणाली तथा पेट्रोलियम पदार्थ र सञ्चालन खर्चका आधारमा विभागले तराई र पहाडी क्षेत्रका लामा तथा छोटा दूरीका रुटहरूमा भाडादर परिमार्जन गरेको हो।

नयाँ समायोजनअनुसार तराईका लामो दूरी (२५० किमीभन्दा बढी) पक्की तथा ग्राभेल बाटोमा चल्ने यात्रुवाहक बस/मिनिबसको भाडा प्रतिव्यक्ति प्रतिसिट  २.९३ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, २५ किमीदेखि २५० किमीसम्मका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने सवारीका लागि प्रतिव्यक्ति प्रतिकिमी  ३ रुपैयाँ तथा काठमाडौँ-पोखरा र पोखरा-नारायणगढ खण्डका लागि  ३.२४ रुपैयाँ कायम गरिएको छ। मालवाहक सवारीतर्फ तराईमा प्रतिटिन प्रतिकिमी  ७.७२ रुपैयाँ र पहाडमा  १४.७७ रुपैयाँ को दरमा आधारित भई विभिन्न रुटको अधिकतम भाडादर तोकिएको छ। विभागका अनुसार डिलक्स सुविधा लिएका सवारी साधनले तोकिएको साधारण भाडामा २० प्रतिशत र सुपर डिलक्सले डिलक्सको भाडादरमा थप २० प्रतिशत रकम लिन पाउनेछन्।

यसैबीच, विभागले भाडादर कार्यान्वयनका लागि १७ बुँदे प्रावधान जारी गर्दै विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक तथा जनआन्दोलनका घाइतेहरूलाई तोकिएको सहुलियत अनिवार्य दिन निर्देशन दिएको छ। यात्रा सुरु गर्दा नै यात्रुलाई अनिवार्य रूपमा स्थान र रकम उल्लेख भएको टिकट जारी गर्नुपर्ने, गाडी तथा काउन्टरमा भाडादर स्पष्ट टाँस्नुपर्ने र लामो दूरीका रात्रिकालीन बसमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको भन्दा बढी भाडा लिएमा, सहुलियत नदिएमा वा आचारसंहिता पालना नगरेमा ट्राफिक प्रहरी र विभागको संयुक्त अनुगमनमार्फत कडा कारबाही गरिने चेतावनी दिइएको छ। यात्रुहरूलाई बढी भाडा लिइएको खण्डमा हेलो सरकार (११११), ट्राफिक प्रहरी (१०३) वा विभागको हटलाइनमा उजुरी गर्नसमेत अनुरोध गरिएको छ।

NECO

Leave Your Comment

Related News