काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। समितिले विवरण सच्याउनुपर्ने बचतकर्तालाई २०८३ साल कात्तिक मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो।
समितिले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत मागदाबीको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ। समितिका अनुसार अनलाइन प्रणालीमा पेस गरिएको मागदाबीबमोजिमको रकम राष्ट्रिय भुक्तानी गेटवे (नेसनल पेमेन्ट गेटवे) मार्फत सम्बन्धित बचतकर्ताको बैंक खातामा सिधै भुक्तानी हुने व्यवस्था गरिएको छ।
समितिले जारी गरेको सूचनाअनुसार बचतकर्ताले आफ्नो मागदाबीमा उल्लेख भएका विवरण परिवर्तन वा अद्यावधिक गर्न सक्नेछन्। त्यसका लागि प्रत्येक मागदाबीमा एउटा मात्र मोबाइल नम्बर प्रयोग गर्नुपर्नेछ। उक्त नम्बरमा प्राप्त हुने एकपटक प्रयोग गर्न मिल्ने संकेत (ओटीपी) का आधारमा विवरण संशोधन गर्न सकिने व्यवस्था गरिएको छ।
मागदाबीमा नाम गलत भएको, मोबाइल नम्बर पुष्टि नभएको, परिचय तथा बचत प्रमाणित गर्ने कागजात नपुगेको वा एउटै बचतकर्ताले एकभन्दा बढी मागदाबी पेस गरेको अवस्थामा आवश्यक प्रमाणसहित विवरण अद्यावधिक गर्नुपर्ने समितिले जनाएको छ।
त्यस्तै, एउटै मोबाइल नम्बर प्रयोग गरेर एकभन्दा बढी मागदाबी पेस गरिएको छ र प्रत्येक मागदाबीमा छुट्टाछुट्टै मोबाइल नम्बर राख्नुपर्ने अवस्था छ भने आवश्यक विवरणसहित समितिको इमेलमा निवेदन दिनुपर्नेछ।
समितिले विवरण अद्यावधिक तथा मोबाइल नम्बर संशोधनसम्बन्धी यो व्यवस्था पहिलो पटकका लागि २०८३ साल कात्तिक मसान्तसम्म लागू हुने जनाएको छ। तोकिएको समयभित्र विवरण सच्याएर मागदाबीको प्रक्रिया सहज बनाउन समितिले सम्बन्धित सबै बचतकर्तालाई आग्रह गरेको छ।





