काठमाडौं । बुढीगण्डकी तथा यसका सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ। बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मे.वा.), दोभान खोला (२४.५ मे.वा.), यारु खोला (३०.५९ मे.वा.), माछा खोला (१६ मे.वा.) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।
विद्युत् वितरण प्रणालीमा क्षति तथा सेवा अवरुद्ध
त्यसैगरी, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेज (HT) पोलसहित सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा वितरण लाइनका पोलहरूमा क्षति पुगेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेज (LT) का ६ वटा पोलमा क्षति पुगेको छ।




