काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विपद्पछिको जनजीवन सहज बनाउने उद्देश्यसहित नुवाकोटस्थित त्रिशूली नदीमाथि २६८ मिटर लामो झोलुङ्गे पुल एक महिनामै निर्माण सम्पन्न गरेको छ।
नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई जोड्ने उक्त पुल गत भदौ १० गते आएको विनाशकारी बाढीले बगाएको थियो। पुल पुनर्निर्माण सम्पन्न भएसँगै भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। बाढीका कारण प्रभावित स्थानीयवासीको आवतजावत सहज बनाउनुका साथै जनजीवनलाई सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित महासंघले आफ्नै कोषबाट पुल निर्माण गर्ने निर्णय गरेको थियो।
महासंघको आर्थिक सहयोग तथा निर्माण व्यवसायी संघ, नुवाकोटको सक्रियता र निरन्तरको मेहनतका कारण छोटो समयमै पुल निर्माण सम्भव भएको हो। पुल सञ्चालनमा आएपछि त्रिशूली र ढुङ्गे बजारबीचको आवागमन सहज हुनुका साथै आसपासका क्षेत्रका ठूलो सङ्ख्यामा स्थानीयवासी लाभान्वित हुने अपेक्षा गरिएको छ।
यस निर्माणलाई भौतिक पूर्वाधारको पुनःस्थापनामा मात्र सीमित नभई विपद्का बेला निर्माण व्यवसायीले देखाएको मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा समेत हेरिएको छ। संकटको समयमा निजी क्षेत्रले पनि समुदायको पुनःस्थापना र राहतमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने सन्देश यस कार्यले दिएको सरोकारवालाहरूको भनाइ छ।
पुल निर्माण कार्यलाई सफल बनाउन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ तथा निर्माण व्यवसायी संघ, नुवाकोटका अध्यक्ष शैलेन्द्र प्याकुरेललगायत पदाधिकारी र सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी, प्राविधिक सहयोग उपलब्ध गराउने ललितपुरको पुल्चोकस्थित सस्पेन्सन ब्रिज डिभिजन, पूर्वाधार विकास कार्यालय नुवाकोट, विदुर नगरपालिका तथा निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पक्षप्रति निर्माण व्यवसायी संघले आभार व्यक्त गरेको छ।
विपद्बाट क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनर्निर्माणले स्थानीयको दैनिक जीवन सहज बनाउन र समुदायलाई पुनः सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।




