काठमाडौं । नेपाल र विश्व बैंक समूहबीच भूकम्पबाट हुन सक्ने क्षतिको वित्तीय भार व्यवस्थापन तथा विपद्का बेला तत्काल स्रोत परिचालन गर्ने उद्देश्यले विपद् (क्याटास्ट्रोफ) बण्ड विकास तथा जारी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंकका उच्च अधिकारीहरूबीच भएको भेटवार्तापछि उक्त सम्झौता सम्पन्न भएको हो । सम्झौतामा अर्थमन्त्री वाग्लेको उपस्थितिमा अर्थसचिव डा. घनश्याम उपाध्याय र विश्व बैंकका ट्रेजरी उपाध्यक्ष जोर्जे फमिलियर काल्डेरोनले हस्ताक्षर गरेका छन् ।
सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा आवश्यक वित्तीय स्रोत छिटो प्राप्त गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ । भूकम्पलगायत प्राकृतिक विपद्को उच्च जोखिममा रहेको नेपालका लागि यसले विपद् जोखिम व्यवस्थापनलाई अन्तर्राष्ट्रिय पुँजी बजारसँग जोड्न सहयोग गर्नेछ ।
विपद् बण्डमार्फत प्राकृतिक प्रकोपबाट उत्पन्न हुने वित्तीय जोखिम अन्तर्राष्ट्रिय बजारमा हस्तान्तरण गर्न सकिन्छ । यसले विपद्का कारण सरकारी वित्तमा पर्ने दबाब कम गर्न तथा विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
सम्झौताअनुसार विश्व बैंक समूहको ट्रेजरी विभागले नेपाल सरकार र बजारका सहभागीहरूसँग सहकार्य गरी विपद् बण्डको सम्भाव्यता तथा सम्भावित संरचनाको मूल्याङ्कन गर्नेछ । त्यसपछि आवश्यक प्रक्रिया अघि बढाएर बण्ड विकास तथा जारी गरिनेछ ।
विपद् बण्डजस्ता पुँजी बजारका उपकरणले प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका मुलुकलाई सम्भावित आर्थिक क्षति व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय पुँजी बजारबाट वित्तीय संरक्षण प्राप्त गर्न सहयोग गर्छन् । नेपालका लागि पनि यस्तो व्यवस्था प्रभावकारी भएमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, वित्तीय सुरक्षा तथा विपद्पछिको पुनर्लाभमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
सम्झौतासम्बन्धी कार्यक्रममा अर्थ मन्त्रालय तथा विश्व बैंकका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।




