म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र गरिएको छ । पश्चिम म्याग्दीको व्यापारिक केन्द्रका रूपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्रसमेत हो ।
गत आर्थिक वर्ष २०८२/०८३ मा ठेक्का सम्झौता भएको दरवाङ बजार सडक कालोपत्र योजना केही दिनअघि मात्रै सम्पन्न भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । “दरवाङको तल्लो र उपल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिएको छ”, उनले भने, “दरवाङमा विसं २०६४ मा सडक सञ्जाल जोडिएको थियो ।”
एक करोड ६६ लाख ४९ हजार सात सय ३२ रुपैयाँ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा एक करोड २६ लाख ८२ हजार आठ सय ८८ रुपैयाँ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।
सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज भएको छ । तीव्र रूपमा बस्ती विकास भएको दरवाङ बजारका भित्री सडक साँघुरा हुँदा सवारीसाधन आवतजावतमा असहज हुनुका साथै दुर्घटनाको जोखिमसमेत रहेको छ ।
तीन सयभन्दा बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारमार्फत कालोपत्र गरिएको थियो । स्थानीय बासिन्दाले सडक फराकिलो बनाउन स्वस्फूर्त रूपमा घरका पेटी र टहरा भत्काएका छन् ।
धौलागिरि टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरका पेटी र टहरा भत्काइएको वडा अध्यक्ष पथबहादुर रोकाले बताए । यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकको दायाँबायाँ पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण गरिएको थियो ।




