RE
Global College

आँखा उपचारबाटै नेपालमा भित्रियो डेढ अर्बभन्दा बढी विदेशी मुद्रा

काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकलाई उपचार सेवा दिनुका साथै विभिन्न देशमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन गर्दै आएका छन् ।

सङ्घको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र आबद्ध छन् । ती अस्पताल तथा उपचार केन्द्रको उत्कृष्ट सेवाका कारण आँखाको उपचारका लागि काठमाडौं वा सीमापारि धाउनुपर्ने बाध्यता अन्त्य हुँदै गएको छ । पछिल्लो समय सीमापारिबाट आँखाका बिरामी उपचारका लागि नेपाल आउन थालेका छन् । उनीहरूका लागि नेपाली आँखा अस्पताल दृष्टि जोगाउने भरोसाको केन्द्र बन्दै गएका छन् ।

नेपाली नेत्र चिकित्सकको दक्षता, आँखा स्वास्थ्य क्षेत्रमा भित्रिएका नवीन उपकरण र गुणस्तरीय सेवालाई सङ्घमा आबद्ध अस्पताल तथा केन्द्रले अधिकतम उपयोगमा ल्याएका छन् । यही विश्वास र भरोसाका कारण नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना सिर्जना भएको छ ।

आँखा उपचार सेवाले देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन थालेको छ । सङ्घका प्रमुख वित्त अधिकृत सीए देवराज पन्तले नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा योगदान दिन थालेको बताए ।

“नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन थालेको छ । विदेशी बिरामी नेपालको आँखा अस्पतालमा उपचार गर्न आउने क्रम बढिरहेको छ । उनीहरूबाट प्राप्त हुने आम्दानीले नयाँ सम्भावनालाई पनि उजागर गरेको छ”, उनले भने ।

उनका अनुसार नेपाल नेत्रज्योति सङ्घको सञ्जालभित्रका अस्पताल तथा केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विदेशी बिरामीलाई उपचार सेवा दिएबापत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याएका छन् ।

“यो केवल एउटा आर्थिक तथ्याङ्क होइन, नेपाली स्वास्थ्य सेवाले अन्तर्राष्ट्रिय स्तरमा कमाउँदै गएको विश्वासको उत्कृष्ट नमुना पनि हो । गुणस्तरीय आँखा स्वास्थ्य सेवाबापत यो मुद्रा भित्र्याउनु प्रचुर सम्भावनाको ढोका खोल्नु हो”, उनले भने ।

प्रमुख वित्त अधिकृत पन्तका अनुसार विदेशी बिरामीबाट प्राप्त हुने आम्दानीले आँखा स्वास्थ्य सेवाको आर्थिक सम्भावनालाई पनि उजागर गरेको छ ।

गुणस्तरीय सेवाले बढायो जनविश्वास

उपचारका लागि नेपाल आउने विदेशी बिरामीमध्ये सबैभन्दा बढी भारतबाट आउने गरेका छन् । यसैगरी बङ्गलादेश, भुटानसहित अन्य मुलुकका नागरिकले पनि नेपाली आँखा अस्पतालको सेवा लिइरहेका छन् ।

बिरामीका आफन्तले उपचारका लागि आफ्नो बिरामीलाई अर्को देश लैजाने निर्णय गर्नु सामान्य कुरा होइन । उपचारको गुणस्तर, चिकित्सकप्रतिको विश्वास, लागत, पहुँच, सेवा प्राप्त गर्ने अवधि, विगतमा बिरामीले भोगेको अनुभव र आर्थिक अवस्थालगायत पक्षले यस्तो निर्णयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् ।

सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्ममा नेपाली तथा विदेशी नागरिक गरी कुल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई सङ्घमा आबद्ध अस्पताल तथा केन्द्रले उपचार सेवा प्रदान गरिसकेका छन् । त्यस्तै, ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

“अनुभवी नेत्र विशेषज्ञ, आधुनिक प्रविधि तथा उपकरण, शल्यक्रियाको राम्रो नतिजा, बिरामीको सेवा, तुलनात्मक रूपमा छोटो प्रतीक्षा अवधि र सर्वसुलभ उपचार खर्चका कारण नेपालको आँखा उपचार अब्बल बन्दै गएको हो । यसै कारण सीमावर्ती क्षेत्रसहित विभिन्न देशका आँखाका बिरामी नेपाली आँखा अस्पतालमा सेवा लिन रुचाइरहेका छन्”, उनले भने ।

विदेशी बिरामीबाट हुने आर्थिक योगदान अस्पतालको बिलमा मात्र सीमित हुँदैन । उनीहरूले उपचार शुल्कबाहेक होटल, यातायात, खाना, औषधि र स्थानीय बजारमा समेत खर्च गर्न सक्छन् । उनीहरूसँग आउने परिवारका सदस्य तथा सहयोगीले गर्ने खर्चले पनि विभिन्न व्यवसायमा आर्थिक गतिविधि बढाउन सक्छ । कतिपय बिरामीले उपचारसँगै नेपालका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणसमेत गर्न सक्छन् । यसरी स्वास्थ्य पर्यटनले अस्पतालबाहिरका व्यवसाय र रोजगारीमा पनि योगदान पुर्‍याउने सम्भावना छ ।

अन्धोपन न्यूनीकरणमा नेपालको आफ्नै अभ्यास

नेपालमा रोकथाम तथा उपचार गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घको स्थापना विसं २०३५ मा भएको थियो । त्यसबेला विशेषज्ञ आँखा उपचार सेवा सीमित क्षेत्रमा केन्द्रित थियो । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि उपचार प्राप्त गर्न कठिन थियो ।

सङ्घका अनुसार त्यसपछि अस्पताल तथा आँखा उपचार केन्द्रको विस्तारसँगै समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, विद्यालयमा दृष्टि परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया र विभिन्न विशेषज्ञ सेवा विस्तार भएका छन् । समुदायमै पुगेर आँखा परीक्षण गर्ने र थप उपचार आवश्यक पर्ने बिरामीलाई अस्पतालसम्म पठाउने अभ्यासले सेवा आम नागरिकको पहुँचमा पुर्‍याउन योगदान गरेको छ ।

नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर घटेर करिब ०.२८ प्रतिशतमा आएको तथ्याङ्कले यस क्षेत्रमा भएको प्रगति देखाउँछ । सन् २०३० सम्म यो दरलाई ०.२० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । दृष्टि जोगिनु व्यक्तिको शिक्षा, रोजगारी, आयआर्जन र आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएकाले यस उपलब्धिको सामाजिक महत्त्व पनि उत्तिकै छ ।

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार संस्थाको मूल उद्देश्य सबै नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यही सामाजिक उत्तरदायित्व कायम राख्दै सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय पहिचान बढ्नुका साथै देशको आर्थिक गतिविधिमा समेत योगदान पुग्न सक्छ ।

उनले भने, “अब आँखा स्वास्थ्य पर्यटनको सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न सरकारले स्वास्थ्य पर्यटनसम्बन्धी स्पष्ट नीति बनाउन, अस्पतालको पूर्वाधार तथा प्रविधिमा लगानी बढाउन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर सुनिश्चित गर्न र विदेशी बिरामीका लागि उपचार प्रक्रिया सहज बनाउन आवश्यक छ । स्वास्थ्य संस्थाबीच सहकार्य र अन्तर्राष्ट्रिय प्रवर्द्धन विस्तार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।”

नेपालको आँखा स्वास्थ्य सेवा रोगको उपचार र दृष्टि पुनःस्थापनामा मात्र सीमित छैन । यसले मानवीय सेवा, अन्तर्राष्ट्रिय विश्वास र आर्थिक सम्भावनालाई एकै ठाउँमा जोडेको छ । सामाजिक उत्तरदायित्व कायम राख्दै गुणस्तरीय सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य क्षेत्र आर्थिक समृद्धि र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण आधार बन्न सक्छ ।

NECO

Leave Your Comment

Related News