काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनालाई ४–२ ले पराजित गरेको छ। पार्क डे प्रिन्सेसमा बुधबार भएको खेलमा पिएसजीको जितमा डेजिरे डुए, लुकास हर्नान्डेज, भिटिन्हा र फाबियन रुइजले गोल गरे। बार्सिलोनाका जाभी एस्पार्ट र लामिन यामलले गोल फर्काए।
डुएले ३८औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १० मिनेटमा १९ वर्षीय एस्पार्टले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ७२ औं मिनेटमा हर्नान्डेजले कर्नरमा आएको बलमा शक्तिशाली हेडरमार्फत गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए। ७९ औं मिनेटमा यामलले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै गोल गरेपछि बार्सिलोनाले २–२ को बराबरी गरेको थियो।
तर त्यसको दुई मिनेट नबित्दै भिटिन्हाले उत्कृष्ट भलीमार्फत गोल गर्दै पिएसजीलाई अघि बढाए। त्यसको पाँच मिनेटपछि फाबियन रुइजले अचरफ हाकिमीको क्रसमा गोल गर्दै पिएसजीको जित पक्का गरे।
खेलको सुरुवातदेखि नै पिएसजीले उच्च दबाबमा खेल्दै बार्सिलोनालाई गल्ती गर्न बाध्य पारेको थियो। खेल सुरु भएको ७९औं सेकेन्डमै खभिचा क्वारात्स्खेलियाको प्रहार पोस्टमा लागेको थियो। त्यसपछि डुए र उस्मान डेम्बेलेका प्रहार बार्सिलोनाका गोलकिपर जोआन गार्सियाले रोकेका थिए।
पहिलो हाफको अन्त्यतिर गार्सियाले फेरान टोरेसका दुई प्रयास विफल पारे। यता, पहिलो हाफको अन्तिमतिर फर्मिन लोपेजको एकल प्रयासलाई पिएसजीका गोलकिपर माट्भे साफोनोभले रोकेका थिए।
दोस्रो हाफमा बार्सिलोनाले बराबरी गरे पनि पिएसजीले लगातार आक्रमण गर्दै जित आफ्नो पक्षमा पार्यो। यो हारसँगै बार्सिलोनाको सिजनको सुरुवातदेखि कायम ११ खेलको अपराजित यात्रा समाप्त भएको छ।
जितपछि पिएसजीले च्याम्पियन्स लिगमा ३ खेलबाट ९ अंक जोडेको छ। बार्सिलोनाको ६ अंक छ। पिएसजीले नोभेम्बर ३ मा स्पेनमा भिल्लारियलसँग खेल्नेछ भने बार्सिलोनाले सोही दिन घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्नेछ।




