काठमाडौं । स्वास्थ्य बीमा बोर्डले HIB e-Portal (eportal.hib.gov.np) मार्फत प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता तथा नवीकरण (Bulk Enrollment/Renewal) सेवा शुभारम्भ गरेको छ। २०८३ कार्तिक १७ गतेदेखि लागू हुने गरी यो सेवा सुरु गरिएको बोर्डले जनाएको छ।
पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरी यो सेवाको औपचारिक सुरुवात गरिएको हो।
यस नयाँ प्रणालीमार्फत अब प्रदेश सरकार तथा स्थानीय तहहरूले आफ्नै ड्यासबोर्डबाट सीधै वा दर्ता सहयोगीमार्फत आफ्ना नागरिक तथा लक्षित लाभग्राहीहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गराउन, नवीकरण गर्न, योगदान रकम भुक्तानी गर्न तथा अभिलेख व्यवस्थापन गर्न सक्नेछन्।
बोर्डले सबै प्रदेश सरकार तथा स्थानीय तहहरूलाई यस प्रणालीमार्फत सेवा लिनका लागि स्वास्थ्य बीमा बोर्डका सम्बन्धित प्रदेश तथा जिल्ला कार्यालयहरूसँग समन्वय गर्न हार्दिक अनुरोध गरेको छ। यस डिजिटल प्रणालीले सामूहिक आबद्धता प्रक्रियालाई सहज, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउनुका साथै दर्ता प्रक्रियामा लाग्ने समयलाई समेत उल्लेख्य रूपमा न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।



