काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बर्दिबास शाखा कार्यालयको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख/उपप्रमुख गोष्ठी कार्यक्रम बर्दिबासस्थित विनायक होटलमा सम्पन्न भएको छ। कार्यक्रममा वित्तीय सचेतना अभिवृद्धि, जिम्मेवार वित्तीय व्यवहारको विकास तथा सदस्य सशक्तीकरणका विषयमा छलफल गरिएको थियो।
बर्दिबास तथा स्कुल चोक शाखा कार्यालयअन्तर्गत आबद्ध सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता केन्द्र नं. ५८ की सदस्य विष्णुमाया बलमपाखीले गरेकी थिइन्। १ सय भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहरा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा मधेश प्रदेश प्रमुख रामकिशोर चौधरी, बर्दिबास क्लस्टर प्रमुख भीमवली कुमार सहनी, बर्दिबास शाखा प्रमुख श्रवणकुमार साह तथा स्कुल चोक शाखा प्रमुख शिवकुमार मुखियाको उपस्थिति रहेको थियो।
कार्यक्रममा बर्दिबास इलाका प्रहरी कार्यालयका वरिष्ठ सहायक हवल्दार श्याम थापा र सहायक हवल्दार जीवनकुमार यादवसहित दुवै शाखाका कर्मचारी, केन्द्र प्रमुख, उपप्रमुख तथा सदस्यहरूको उल्लेख्य सहभागिता थियो।
कार्यक्रमको सुरुवात वित्तीय साक्षरतासम्बन्धी सन्देश अंकित प्लेकार्डसहित बर्दिबास बजारमा निकालिएको सचेतनामूलक र्यालीबाट गरिएको थियो। र्यालीमार्फत नियमित बचत, कर्जाको सदुपयोग, वित्तीय अनुशासन, नियमित किस्ता भुक्तानी तथा वित्तीय सेवाको जिम्मेवार उपयोगसम्बन्धी सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहराले वित्तीय साक्षरता सदस्यहरूको आर्थिक सशक्तीकरण र संस्थाको दिगोपनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै नियमित बचत गर्ने, आवश्यकताअनुसार मात्र कर्जा लिने, कर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने तथा निर्धारित समयमा साँवा र ब्याज भुक्तानी गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिएका थिए। उनले सदस्यहरूको वित्तीय अनुशासन, सक्रिय सहभागिता र जिम्मेवार व्यवहारले लघुवित्त सेवाको प्रभावकारिता बढाउन महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
त्यसैगरी, मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीले वित्तीय साक्षरताका विभिन्न पक्षबारे प्रस्तुतीकरण सहित सहभागीहरूलाइ तालिम प्रदान गराएका थिए। उनले व्यक्तिगत तथा पारिवारिक आर्थिक व्यवस्थापन, बचतको महत्व, कर्जाको उचित उपयोग, वित्तीय जोखिम न्यूनीकरण, डिजिटल वित्तीय कारोबारमा अपनाउनुपर्ने सावधानी तथा वित्तीय ठगीबाट बच्ने उपायबारे सहभागीहरूलाई सचेत गराएका थिए। उनले केन्द्र प्रमुख तथा उपप्रमुखहरूलाई आफ्ना केन्द्रमा आबद्ध सदस्यहरूबीच वित्तीय ज्ञान र अनुशासन अभिवृद्धि गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
कार्यक्रममा नेपालीहरूको प्रमुख चाड तिहार तथा छठ पर्व नजिकिँदै गरेको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो। कार्यक्रमलाई सांस्कृतिक र आत्मीय बनाउन सहभागी सदस्यहरूले समूहगत रूपमा देउसी–भैलो तथा छठी मातासम्बन्धी गीत प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा उत्साह र उल्लास थप्नुका साथै कर्मचारी तथा सदस्यहरूबीच आपसी सद्भाव र आत्मीयता अभिवृद्धि गर्न सहयोग पुर्याएको थियो।
वित्तीय साक्षरता तथा केन्द्र प्रमुख/उपप्रमुख गोष्ठीले सदस्यहरूमा वित्तीय ज्ञान, जिम्मेवार आर्थिक व्यवहार र बचतको संस्कार विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै, केन्द्र प्रमुख तथा उपप्रमुखहरूको नेतृत्व क्षमता अभिवृद्धि, संस्थाप्रतिको अपनत्व सुदृढीकरण र सदस्यहरूबीच आपसी सहकार्य विस्तारमा समेत कार्यक्रम उपयोगी हुने विश्वास लिइएको छ।
वित्तीय साक्षरता र सदस्य सशक्तीकरणलाई प्राथमिकतामा राखेर आयोजना गरिएको यस कार्यक्रमले वित्तीय सचेतना अभिवृद्धि गर्नुका साथै संस्थाका कर्मचारी र सदस्यबीचको सम्बन्ध सुदृढ गर्न तथा चाडपर्वको सांस्कृतिक र सामाजिक सद्भाव प्रवर्द्धन गर्न योगदान पुर्याएको छ।



