Global College

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्‌गृह निर्माण अन्तिम चरणमा, उपकरण परीक्षण सुरु

तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्‌गृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झण्डै ८० प्रतिशत सम्पन्न भएको हो ।

प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खनन कार्य सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पूरा भएको छ ।

भूमिगत विद्युत्‌गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्ट ट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कंक्रिटिङलगायत प्रमुख संरचनामा उत्खनन तथा कंक्रिटिङको काम करिब सम्पन्न भएको छ । मुख्य सुरुङको कंक्रिट लाइनिङ कार्य अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

भूमिगत विद्युत्‌गृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडानको काम अघि बढेको छ । विद्युत्‌गृहमा जेनेरेटर, टर्बाइन, सीसीटीभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा परीक्षण भइरहेको उनले बताए ।

त्यसैगरी, वातावरणीय बहावका लागि निर्माण गरिने विद्युत्‌गृह र बाँध सञ्चालन भवनको निर्माण जारी रहेको छ । भूमिगत विद्युत्‌गृह तथा सुरुङका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न हुँदै गर्दा उपकरण जडान र परीक्षणलाई पनि सँगसँगै अघि बढाइएको आयोजनाले जनाएको छ ।

प्याकेज–२ अन्तर्गतका यी संरचना तथा उपकरण निर्माणको काम सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ ।

NECO

Leave Your Comment

Related News