काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने वृद्धि देखिएको छ। समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ रहेको थियो। यसअनुसार खुद बीमाशुल्क आर्जन ९.५७ प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन ५ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
यद्यपि, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ९ करोड ६९ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ८३ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको खुद नाफा करिब १०.५१ प्रतिशतले घटेको हो।
कम्पनीको कुल आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब १३ करोड ९५ लाख रुपैयाँ रहेको कुल आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ८ अर्ब ५९ करोड ५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च ७ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ७ अर्ब ४० करोड ९६ लाख रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ०५ पैसा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ईपीएस ७ रुपैयाँ ८८ पैसा थियो। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १२ पैसा रहेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको लगानी १ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो। त्यस्तै, कम्पनीको लाइफ इन्स्योरेन्स फन्ड १ खर्ब ५१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने कुल इक्विटी ९ अर्ब ९० करोड ६६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात १.६१ रहेको वित्तीय विवरणमा उल्लेख छ।



