Global College

युवराजको शतक मद्दतमा पोखराको पहिलो जित, कर्णालीलाई धक्का

काठमाडौं । युवराज सिंह सम्राले सिजनकै पहिलो शतक बनाउँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै यस सिजनको पहिलो जित हात पारेको छ । लगातार चार खेलमा पराजित भएको पोखराले यस सिजनकै सर्वाधिक योगफल बनाउँदै पहिलो जित निकाल्दै अंकको खाता समेत खोलेको हाे । पोखराले ५ खेलबाट २ अंक जोडेको छ ।

उता सुरुवाती दुई खेल जितेर राम्रो सुरुवात गरेको कर्णालीको भने यो लगातार तेस्रो हार हो र यसले टोलीको प्लेअफ यात्रामा समेत धक्का लागेको छ । कर्णालीले अब साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजसँग खेल्न बाँकी छ । कर्णाली ५ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ ।

पोखराले दिएको यस सिजनकै सबैभन्दा ठूलो २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले ३० बल खेल्दै १ चौका र २ छक्का मदतमा सर्वाधिक ३२ रन बनाए । यस्तै ओपनर अरिफुल इस्लामले १३ बलमा समान २ चौका र २ छक्का मदतमा २४ रन बनाए भने दीपक डुम्रेले आक्रमक ब्याटिङ गर्दै ७ बलमा १ चौका र३ छक्का मदतमा २२ रन जोडे ।

कप्तान सोमपाल कामीले २१ रन बनाए । उनी एनपीएलकै दुर्लभ विकेटका रुपमा आउट भए । १५ ओ ओभरको अन्तिम बलमा बललाई दुई पटक प्रहार गरेपछि सोमपाल अब्सट्रक्टिङ फिल्डको रुपमा आउट भएका हुन् । सूर्य तामाङले १३ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर जिशान आलमले खाता खोल्न सकेनन् भने मार्क वाट ८, डेभिड मिलर ७, गुल्सन झा २, नन्दन यादव ३ रनमा आउट भए । युवराज खत्री १ रनमा अविजित रहे ।

कर्णालीलाई अलआउट गर्न पोखराका लागि धनन्जय लक्षणले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । धनन्जय लक्षण र कुशल भुर्तेलले २-२ तथा बिपिन खत्रीले १ विकेट लिए । त्यसअघि युवराज सिंह सम्राले यस सिजनकै पहिलो शतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो ।

यस सिजन २०० रन स्कोर गर्ने पोखरा पहिलो टिम बनेको छ । यस्तै एनपीएलमा समग्रमा यो दोस्रो ठूलो स्कोर हो । सन् २०२५ को दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्स विरुद्ध नै २२० रन बनाएको थियो ।

युवराज सम्राले ४५ बलमा १० चौका र ६ छक्का मदतमा १०० रन पूरा गरेका हुन् । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । यस्तै कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे । क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् ।

सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए । ओपनर हसन सस्तैमा आउट भएपछि सम्राले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकिय साझेदारी गर्दै पोखराको इनिङ्स अघि बढाएका थिए ।

सम्रा र भुर्तेल आउट भएपछि कप्तान चमिका करुणारत्नले आक्मरक ब्याटिङ गर्दै २०० रन कटाउन मदत गरे । करुणारत्नेले केमियो इनिङ्स खेल्दै ११ बलमा ३ चौका र ३ छक्का मदतमा अविजित २५ रन जोडे । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक ३ रनमा अविजित रहे ।कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । यस्तै मार्क वाटले १ विकेट लिए ।

NECO

Leave Your Comment

Related News