काठमाडौं । ओमानमा चलिरहेको १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको पाकिस्तानसँगको खेलमा नेपाल १०१ रनले पराजित भयो ।
पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभर ४ बलमा १७४ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका रोहित चन्दले सबैभन्दा धेरै ३७ रन बनाए । पाकिस्तानका अहमद हुसेनले ४ विकेट लिए ।
यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो । पाकिस्तानका अहमद हुसेनले ८९, कप्तान फरहान युसुफले ७४ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ३, सुशीलबहादुर रावलले २ विकेट लिए ।
नेपाल यसअघि लगातार दुई हारसँगै समूह चरणबाट बाहिरिइसकेको थियाे । समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा भारतसँग १० विकेट र दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ७ विकेटले पराजित भएको थियो ।
पाकिस्तान लगातार तेस्रो जीतसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा यूएईलाई ९ विकेट र दोस्रो खेलमा भारतलाई ३ विकेटले हराएको थियो । अहिले यो समूहका अर्का दुई टोली भारत र संयुक्त अरब इमिरेट्स (यूएई) यूएईबीचको खेल चलिरहेको छ । यो खेल जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ बाट अफगानिस्तान अपराजित रहँदै शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन् ।



