Global College

एनपीएल : जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेको नेपाल प्रिमियर लिग लिग (एनपीएल) को लो स्कोरिङ खेलमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । ६ खेलमा चौथो जित हात पारेको सुदूरपश्चिम ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । शीर्ष स्थानको काठमान्डु गोर्खाज समान अंक जोडेपनि सुदूरपश्चिम रनरेटमा पछि छ ।

अर्कोतर्फ पहिलो संस्करणको च्याम्पियन जनकपुरको ६ खेलमा यो चौथो हार हो र ४ अंकसहित पाँचौ स्थानमा रहेको जनकपुरको प्लेअफ पुग्ने सम्भावनामा ठूलो धक्का लागेको छ । जनकपुर बोल्ट्सका लागि तृत राज दासले २१, जिमी निशमले २० र आदित्य महताले १० रन जोडे । ११औं नम्बरमा ब्याटिङ गरेका बलर राहुल यादवले ११ रन बनाए ।

अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनिङ गरेका अनिल शाह २, हेरी टेक्टर १, रायन बर्ल ८, विशाल सुशलिङ २, कप्तान हर्मीत सिंह ४, अभिषेक तावरी २ र ललित राजवंशी रनमा आउट भए । जिमी निशम र ललित राजवंशीले नवौँ विकेटका लागि गरेको २० रनको साझेदारी नै जनकपुरको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी बन्यो । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ तथा हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे । थरिन्दु रत्नायकेले २८ बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित २७ रन बनाए ।

ओपनर जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । यो नै सुदूरपश्चिमको इनिङ्समा उच्च साझेदारी रह्यो । त्यसपछि सुदूरपश्चिमले राम्रो साझेदारी गर्न सकेन भने नियमित अन्तरमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन ।

जनकपुरका लागि कप्तान हर्मीत सिंहले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १-१ विकेट लिए ।

NECO

Leave Your Comment

Related News