काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ।
सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो ।
सार्वजनिक ऋण व्यवस्थापनमा ऋण उठाउने, ग्यारेन्टी गर्ने, ऋणको चुक्ता गर्ने एवं ऋणको पुन संरचनासँग सम्बन्धित कार्य पर्दछ। आन्तरिक ऋणलाई अल्पकालीन स्रोत मानिएको छ। यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक तथा वैदेशिक रोजगार बचतपत्रलाई लिइएको छ। दीर्घकालीन स्रोतका रूपमा बाह्य ऋणलाई लिने गरिन्छ। यसअन्तर्गत ऋण विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तरराष्ट्रिय सङ्घ संस्था तथा विदेशी सरकारबाट लिने गरिन्छ।



