काठमाडौं । नेपालले आज शुक्रबार एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारको दोहामा जारी प्रतियोगिताअन्तर्गत नेपालले वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे भारत ‘ए’ को सामना गर्नेछ।
प्रतियोगिताअघि भारत ‘ए’ का कप्तान तिलक वर्माले नेपाली क्रिकेटको प्रशंसा गरेका छन्। उनले पछिल्ला केही वर्षमा नेपालले क्रिकेटमा उल्लेखनीय प्रगति गरेको बताउँदै अफगानिस्तानसँगको प्रदर्शन पनि राम्रो रहेको उल्लेख गरेका छन्।
नेपालको टोलीमा सिनियर अन्तर्राष्ट्रिय अनुभव भएका सन्दीप लामिछानेसँगै युवा प्रतिभाशाली खेलाडीहरूको राम्रो संयोजन रहेको छ। कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरालगायत खेलाडी टोलीका महत्वपूर्ण सदस्य हुन्। विशेषगरी बलिङमा सन्दीप लामिछाने र ललित राजवंशी नेपालका प्रमुख हतियार बन्न सक्छन्।
नेपालले ब्याटिङतर्फ कुशल भुर्तेल र लोकेश बमबाट ठूलो अपेक्षा गरेको छ। एनपीएलमा ४२ रनसहित सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका लोकेश बमले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
तर भारत ‘ए’ विरुद्धको खेल नेपालका लागि सहज हुने छैन। भारतीय टोलीमा अन्तर्राष्ट्रिय तथा आईपीएलको अनुभव बटुलेका खेलाडीहरूको बाहुल्य छ। आक्रामक ओपनर अभिषेक शर्मा, युवा ब्याटर वैभव सूर्यवंशी र विस्फोटक फिनिसर रिंकु सिंह भारतीय टोलीका मुख्य आकर्षण हुन्। तीव्र गतिका बलर हर्षित राणा पनि टोलीमा फर्किएका छन्।
यी दुई टोलीबीच यसअघि सन् २०२३ को इमर्जिङ टिम्स एसिया कपमा प्रतिस्पर्धा भएको थियो। श्रीलंकाको कोलम्बोमा भएको उक्त खेलमा भारत ‘ए’ ले नेपाललाई नौ विकेटले पराजित गरेको थियो।



