काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण तथा भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, आपतकालीन उद्धार तथा राहत कार्यका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ‘र्यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।
मन्त्रिपरिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित विषयमा देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ। साथै, बैठकले ‘राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०)’, ‘ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०२३’ तथा ‘राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३’ स्वीकृत गरेको छ।
।



