Global College

महासंघ, परिसंघ र चेम्बरका अध्यक्षसहित ५२ व्यवसायी प्रधानमन्त्रीसँगै भारत जाँदै (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको राजकीय भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीको नेतृत्वमा रहने ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलसँगै निजी क्षेत्रका ५२ जना उद्योगी तथा व्यवसायीसमेत आफ्नै खर्चमा भारत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शाहसहितको सरकारी टोली आइतबार अपराह्न १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

भ्रमण दलमा सहभागी हुने ५२ व्यवसायीमा निजी क्षेत्रका प्रमुख छाता संगठनका नेतृत्व, विषयगत संघसंस्थाका अध्यक्ष तथा युवा उद्यमीहरू समेटिएका छन्। मन्त्रालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक गोपाल प्रसाद तिवारी तथा कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्वल श्रेष्ठ, सागर ढकाल, निरज काफ्ले र शिवकुमार अग्रवाल भ्रमणमा सहभागी हुनेछन्। त्यस्तै, नेपाल उद्योग परिसंघबाट अध्यक्ष वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, पूर्वअध्यक्ष विष्णु कुमार अग्रवाल र राजबहादुर शाह तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा भारत जाने तय भएको छ।

यसैगरी, नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का अध्यक्ष कुनाल कायल, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष करण चौधरी तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगी, निवर्तमान अध्यक्ष एवं ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका सल्लाहकार गणेश कार्की, पुष्कर पौडेल र विभूषण विष्ट पनि भ्रमण टोलीमा रहेका छन्। विभिन्न वस्तुगत तथा सेवामूलक क्षेत्रको प्रतिनिधित्व गर्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ, औषधी उत्पादक संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, फेडरेसन अफ नेप्लिज इन्डस्ट्रिज एन्ड कमर्सका अध्यक्ष खिम नारायण पराजुली, निर्यात उद्यमी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, कफी महासंघका उपाध्यक्ष सरोज श्रेष्ठ, नास–आईटीका उपाध्यक्ष विभूषण विष्ट, गार्मेन्ट एसोसिएसनका अध्यक्ष पशुपतिदेव पाण्डे, हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य र नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती भ्रमणमा जानेछन्।

भ्रमणमा सहभागी हुने अन्य व्यावसायिक नेतृत्वमा होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, टानका अध्यक्ष सागर पाण्डे, नाट्टाका अध्यक्ष भरत जङ्ग पाण्डे, महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ, सचिव दिकिला शेर्पा लामा र कार्पेट उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ रहेका छन्। साथै, उद्यमीहरू सचिन ढकाल, नितेश मालपानी, कल्याण गुरुङ, टुक प्रसाद पौडेल, जीवा लामिछाने, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, दिलीप अग्रवाल, सञ्जय काफ्ले, दीपक थापा, निकोलष पान्डे र रञ्जन कुमार बानसमेत भारत जाने सूचीमा अटाएका छन्।

भ्रमणका क्रममा आयोजना हुने ‘नेपाल–भारत बिजनेस फोरम’ मा नेपाली तथा भारतीय व्यवसायीहरूबीच विशेष छलफल हुने कार्यतालिका छ। नेपालमा भारतीय लगानी भित्र्याउने उद्देश्यसहित आयोजना गरिने उक्त मञ्चमा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपाल सरकारले लगानी आकर्षित गर्न अपनाएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ। भारतीय लगानीकर्ताका चासो र सरोकार सम्बोधन गर्दै दुई देशका निजी क्षेत्रबीच व्यावसायिक सहकार्य विस्तार गर्ने सेतुका रूपमा यो फोरम फलदायी हुने अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News