काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावे टेक्नोलोजीजलाई व्यापारिक गोपनीयता चोर्ने षड्यन्त्र र बैंकिङ ठगीको अभियोगमा अमेरिकी अदालतको जूरीले दोषी ठहर गरेको छ। यद्यपि, जूरी सदस्यहरूले मंगलबार कम्पनीलाई सबैभन्दा गम्भीर अभियोग आपराधिक र्याकेटियरिङ षड्यन्त्रबाट भने सफाइ दिएका छन्। यो अभियोग सामान्यतया संगठित अपराध र लागूपदार्थसम्बन्धी मुद्दामा लगाइने भए पनि अभियोजनकर्ताहरूले अमेरिकी कम्पनीहरूको बौद्धिक सम्पत्ति चोर्न हुवावेले गैरकानुनी तरिकाले काम गरेको आरोप लगाउन प्रयोग गरेका थिए।
लामो सुनुवाइपछि यो फैसला आएको हो, जसमा अमेरिकी अभियोजनकर्ताहरूले हुवावेले अमेरिका र अन्य स्थानका प्रतिस्पर्धी तथा साझेदारहरूबाट बारम्बार प्राविधिक गोपनीयता चोरेको तर्क गरेका थिए। इरान र उत्तर कोरियासहित अमेरिकी प्रतिबन्ध लागेका देशहरूमा कारोबार गरेको तथा आफ्ना गलत काम लुकाउने प्रयासस्वरूप अमेरिकी सरकारी अधिकारी र बैंकहरूलाई झुटो विवरण दिएको आरोप पनि हुवावेमाथि लगाइएको थियो। राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याएको भन्दै अमेरिकी अधिकारीहरूले वर्षौंदेखि हुवावेलाई तारो बनाउँदै आएका थिए। यो फौजदारी मुद्दा सन् २०१८ मा सुरु भएको थियो र त्यसको अर्को वर्ष अमेरिकी सरकारले अमेरिकी प्रविधिमा पहुँच सीमित गर्ने गरी हुवावेलाई व्यापार कालोसूचीमा राखेको थियो।
विज्ञहरूका अनुसार कम्पनीले आफ्नो व्यवसायमा विविधीकरण गर्दै कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा चीनको अघि बढ्ने प्रयासको एक प्रमुख खेलाडीका रूपमा आफूलाई स्थापित गरेकाले यो मुद्दाले हुवावेको व्यवसायलाई कमजोर भने बनाउन सकेको छैन। दुई महिनाभन्दा बढी समय चलेको सुनुवाइमा अभियोजनकर्ताहरूले ६० भन्दा बढी साक्षी र प्रतिरक्षा पक्षले १५ जना साक्षी पेस गरेका थिए। हुवावे र तीन सम्बद्ध संस्थामाथि र्याकेटियरिङ षड्यन्त्र, बैंकिङ ठगी, वायर ठगी, प्रतिबन्ध उल्लंघन, व्यापारिक गोपनीयता चोर्ने षड्यन्त्र र न्यायमा अवरोध पुर्याएकोलगायत १२ वटा अभियोग लगाइएको थियो।
कम्पनीका वकिलहरूले हुवावेका २ लाखभन्दा बढी कर्मचारीमध्ये केहीले गरेका छिटफुट गल्तीलाई आधार बनाएर अमेरिकी अनुसन्धानकर्ताहरूले वास्तवमै अस्तित्वमा नरहेको ठूलो षड्यन्त्रको झुटो कथा बुनेको बताएका थिए। हुवावेका वकिल ब्रायन हेबरलिगले दोषी ठहर गरिएका विषयमा पुनरावेदन गर्ने तर र्याकेटियरिङ षड्यन्त्रबाट सफाइ पाउनुलाई न्यायिक पुष्टि भएको बताउनुभयो। अदालतबाहिर बोल्दै उहाँले भन्नुभयो, सबै आरोपलाई एकै ठाउँमा जोड्ने एउटै अभियोग त्यही थियो र जूरीले त्यसलाई अस्वीकार गरेको छ। उहाँले यो फैसलाले मुद्दामा सरकारको मुख्य कथालाई अस्वीकार गरेको बताउनुभयो।
यो फैसलाले हुवावेको विश्वव्यापी स्थितिमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट छैन। सुरक्षा चासोका कारण कम्पनीलाई वर्षौंदेखि अमेरिकी क्यारियरहरूलाई उपकरण बिक्री गर्न अनुमति दिइएको छैन। क्यानडा र बेलायतसहितका अन्य पश्चिमी साझेदारहरूले पनि यसलाई कालोसूचीमा राखेका छन्।
एजेन्सी



