CLI
Global College

एक हप्तामै सुनको मूल्यमा ११ हजार १०० रुपैयाँको गिरावट, तोलाको कति ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा निकै उतारचढाब देखिएको छ । एक सातामा सुनको मूल्यमा उच्च वृद्धि र उच्च गिरावटको अवस्था देएिको हो ।

एक साताको अवधिमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा नेपाली बजारमा सुनको मूल्य ११ हजार १०० रुपैयाँले घटेको हो । साताका बीचमा उच्च अंकले घटेको बजार अन्तिम दुई दिन भने उच्च वृद्धि भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ १२ गते शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । भदौ १९ गते शुक्रबार सुनको मूल्य ३ लाख ७ हजार ४०० रुपैयाँ पुगेको छ । भदौ १४ गते आइतबार एकैदिन सुनको मूल्य ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता भदौ १५ गते सोमबार सुन थप २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६०० रुपैयाँमा आइपुग्यो । भदौ १६ गते मंगलबार पनि ५०० रुपैयाँले घट्दै ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भयो । भदौ १७ गते बुधबार सुनको मूल्यमा साताकै ठूलो गिरावट देखियो । यस दिन सुन ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भयो । यससँगै सुन फेरि प्रतितोला ३ लाख रुपैयाँभन्दा तल पुगेको थियो ।

त्यसपछि दिनमा भने सुनको मूल्य फेरि बढ्यो । भदौ १८ गते बिहीबार सुन ७ हजार ६०० रुपैयाँले बढेर ३ लाख ४ हजार ९०० रुपैयाँमा पुग्यो । साताको अन्तिम कारोबार दिन भदौ १९ गते शुक्रबार पनि सुन २ हजार ५०० रुपैयाँले बढेर ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

Leave Your Comment

Related News