काठमाडौं । नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार भदौ २२ काठमाडौँस्थित चिनियाँ दूतावासमा विशेष श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। गत भदौ १० गते (अगस्ट २६) आएको विनाशकारी पहिरो तथा बाढीमा परी ज्यान गुमाएका नागरिकहरुको सम्झनामा दूतावासले शोक व्यक्त गरेको हो।
शोक दिवसका अवसरमा दूतावास परिसरमा चिनियाँ राष्ट्रिय ध्वजा आधा झुक्याइएको थियो। मृतकहरूप्रति गहिरो संवेदना प्रकट गर्दै दूतावासले विपद्को यस कठिन घडीमा दुई देशबीचको ऐक्यबद्धता र सहकार्यलाई पुन: दोहोर्याएको छ।
दूतावासद्वारा जारी वक्तव्यमा भनिएको छ:
“चीन र नेपाल सधैँ आशा र दृढताका साथ एकजुट भई उभिनेछन्; हामी मिलेर यो कठिनाइलाई पार गर्नेछौँ र हाम्रा घरहरू पुन: निर्माण गर्नेछौँ।”
रसुवा, नुवाकोट लगायतका क्षेत्रमा भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी १,३०० भन्दा बढीको ज्यान गएको र हजारौँ बेपत्ता भएको क्षतिलाई सम्बोधन गर्दै सरकारले आज राष्ट्रिय शोक दिवस मनाएको हो। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी र शव पहिचानका लागि चिनियाँ विशेष सुरुङ उद्धार टोली तथा फोरेंसिक विज्ञहरू नेपाली सेना र प्रहरीसँगै निरन्तर खटिरहेका छन्।




