CLI
Global College

भोटेकोशी बाढीपीडितका लागि सिटिजन्स बैंकले दियो २ करोड २२ लाख सहयोग

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनलले भोटेकोशी बाढीपीडितको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।

बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि उपस्थिति थियो।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार र राहतमा सहयोग पुर्‍याउने उद्देश्यले रकम कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

बैंकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढीबाट बैंकको नुवाकोटस्थित देवीघाट शाखा कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ। शाखा कार्यालय नै क्षतिग्रस्त भए पनि बैंकले तत्काल राहतका लागि देवीघाट क्षेत्रका प्रभावितलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ।

बैंकले विदुर नगरपालिका–५ देवीघाटमा चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायत खाद्यान्न सहयोग गरेको जनाएको छ।

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। बैंकले सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलाई समेत सहयोग गर्दै आएको बताएको छ।

बैंकका अनुसार हाल देशका ६१ जिल्लामा २ सय शाखा, १ सय ६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ। बैंकका ग्राहक संख्या २० लाख ६० हजारभन्दा बढी रहेको छ।

Leave Your Comment

Related News