CLI
Global College

जेनजी आन्दोलनको एक वर्षपछि पनि बीमा दाबी भुक्तानी भएन , २३ अर्बको दाबीमध्ये ८ अर्ब ८२ करोड भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी अझै  हुन सकेको छैन  । आन्दोलन भएको करिब एक वर्ष पुगिसक्दा पनि बीमितले कुल २३ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी गरेकोमा बीमा कम्पनीहरूले ८ अर्ब ८२ करोड रुपैयाँ मात्रै भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ३ हजार ३ सय ९० बीमितले २३ अर्ब १९ करोड रुपैयाँ बराबरको बीमा दाबी गरेका थिए । गत असार २२ गतेसम्म कम्पनीहरूले कुल दाबी रकमको करिब ३८ प्रतिशत मात्रै भुक्तानी गरेका हुन् ।

आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र अन्य कारणबाट ठूलो क्षति पुगेको थियो । प्राधिकरणका अनुसार आन्दोलनबाट करिब ८४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिए पनि बीमा गरिएको सम्पत्तिको क्षति भने २३ अर्ब १९ करोड रुपैयाँ बराबरको थियो ।

सम्पत्ति बीमामा सबैभन्दा ठूलो दाबी

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूतर्फ परेको दाबीमध्ये सम्पत्ति बीमामा सबैभन्दा ठूलो रकमको दाबी परेको छ । सम्पत्ति बीमातर्फ ६ सय ९५ वटा दाबीमार्फत १९ अर्ब ३ करोड ४१ लाख रुपैयाँ माग गरिएको थियो ।

त्यस्तै, मोटर बीमातर्फ २ हजार २ सय ९५ वटा दाबीबाट ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २ सय ९ वटा दाबीबाट ५५ करोड ४ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीबाट १ करोड ६९ लाख रुपैयाँ र अन्य बीमातर्फ ४४ वटा दाबीबाट ३९ करोड १८ लाख रुपैयाँ बराबरको दाबी परेको थियो ।

नेपाल पुनर्बीमा कम्पनीमा मात्रै २ हजार ८ सय ६० वटा पुनर्बीमा दाबी परेको थियो, जसको कुल रकम १५ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।

भाटभटेनीमा १२ अर्बको क्षति, साढे २ अर्ब मात्रै भुक्तानी

आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । कम्पनीले स्टकको क्षतिबापत ५ अर्ब रुपैयाँ र भवन क्षतिबापत ३ अर्ब रुपैयाँ गरी कुल ८ अर्ब रुपैयाँको बीमा दाबी गरेको थियो ।

तर, हालसम्म भाटभटेनीले करिब साढे २ अर्ब रुपैयाँ मात्रै बीमा भुक्तानी पाएको छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार क्षतिको मूल्याङ्कनमा समय लागेकाले दाबी भुक्तानीमा ढिलाइ भएको हो । बाँकी दाबी पनि प्रक्रियामै रहेकाले आगामी दिनमा भुक्तानी हुने उनले बताएका छन् ।

आन्दोलनका क्रममा चन्द्रागिरि केबुलकार, विभिन्न सवारीसाधनका सोरुम, बैंकका शाखा, मौलाकालिका केबुलकार, सीजी डिजिटल, होटल हिल्टन, एनसेल, हायात रिजेन्सीलगायतका व्यवसाय तथा निजी सम्पत्तिमा समेत ठूलो क्षति पुगेको थियो ।

हिल्टनले अझै पाएन एडभान्स

आगजनीबाट ठूलो क्षति पुगेको होटल हिल्टनले भने हालसम्म बीमा दाबीको एडभान्स रकमसमेत पाउन सकेको छैन । होटल स्रोतका अनुसार हिल्टनले करिब ५ अर्ब रुपैयाँ बराबरको बीमा दाबी गरेको भए पनि अहिलेसम्म कुनै रकम भुक्तानी भएको छैन ।

बीमा प्राधिकरणका अधिकारीहरूका अनुसार बीमितले दाबी गरेको सम्पूर्ण रकम नै कम्पनीले भुक्तानी गर्नुपर्ने हुँदैन । क्षतिको वास्तविक मूल्याङ्कन, बीमा पोलिसीका सर्त तथा अन्य प्रक्रियाका आधारमा भुक्तानीयोग्य रकम निर्धारण हुने भएकाले माग दाबी र अन्तिम भुक्तानी रकममा फरक पर्न सक्छ ।

प्राधिकरणका अनुसार प्रारम्भिक मूल्याङ्कनबाट करिब १५ अर्ब रुपैयाँ भुक्तानीयोग्य रकम देखिएको छ । थप ४ देखि ५ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी अन्तिम प्रक्रियामा रहेको छ । यो रकमसमेत जोड्दा कुल भुक्तानी करिब १३ देखि १४ अर्ब रुपैयाँसम्म पुग्न सक्ने अवस्था रहेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ ।

सिद्धार्थ प्रिमियरमा सबैभन्दा धेरै दाबी

आन्दोलनबाट भएको क्षतिको दाबी संख्या हेर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीमा ३ सय ९४ वटा दाबी परेको थियो ।

त्यस्तै, शिखर इन्स्योरेन्समा ४ सय ३३ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ सय ४२ वटा, हिमालयन एभरेस्ट इन्स्योरेन्समा २ सय ७० वटा, एनएलजी इन्स्योरेन्समा २ सय ५ वटा र नेको इन्स्योरेन्समा २ सय ४५ वटा दाबी परेको थियो ।

दाबी रकमका आधारमा पनि विभिन्न बीमा कम्पनीमा करोडौं रुपैयाँ बराबरका दाबी परेको थियो । बीमा कम्पनीहरूले आन्दोलनबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरी दाबी फर्छ्यौटको प्रक्रिया अघि बढाए पनि क्षतिको तुलनामा भुक्तानी पर्याप्त हुन नसकेको देखिएको छ ।

निजी क्षेत्रको क्षति ३७ अर्बभन्दा बढी भएको दाबी

जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रको मात्रै करिब ३७ अर्ब रुपैयाँ बराबरको सम्पत्ति पूर्णरूपमा क्षति भएको दाबी नेपाल उद्योग वाणिज्य महासंघले गरेको थियो । महासंघका अनुसार होटल तथा पर्यटन क्षेत्रमा २५ अर्ब रुपैयाँभन्दा बढी र अटोमोबाइल क्षेत्रमा १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो ।

त्यसैगरी, बैंकबाट नगद ५ करोड रुपैयाँ र १८ किलो सुन लुटिएको दाबीसमेत गरिएको थियो । आन्दोलनका कारण करिब १५ हजार रोजगारी प्रभावित भएको र मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ५ प्रतिशतसम्म असर पर्न सक्ने महासंघको प्रारम्भिक आकलन थियो ।

यता अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आन्दोलनबाट अटोमोबाइल क्षेत्रमा मात्रै करिब १५ अर्ब रुपैयाँको क्षति भएको आकलन गरेको थियो । काठमाडौंसहित देशभरका अटो डिलर, सोरुम, वेयरहाउस तथा स्पेयर पार्ट्स स्टोरमा क्षति पुगेको नाडाको भनाइ थियो ।

विशेषगरी काठमाडौंको थापाथलीस्थित सवारीसाधनका सोरुममा ठूलो क्षति पुगेको तथा कलंकी, हेटौंडा, पोखरा र नारायणगढलगायतका डिलरसमेत प्रभावित भएको नाडाले जनाएको थियो ।

आन्दोलनबाट भएको ठूलो भौतिक क्षतिपछि बीमा दाबीको संख्या र रकम उच्च रहे पनि मूल्याङ्कन, कागजात परीक्षण, पुनर्बीमा तथा अन्य प्रक्रियाका कारण दाबी फर्छ्यौटमा समय लागेको बीमा क्षेत्रका अधिकारीहरू बताउँछन् ।

Leave Your Comment

Related News