CLI
Global College

बैंकहरूलाई राष्ट्र बैंककाे निर्देशन, अब एटीएमबाट १०० रुपैयाँका नोट पनि निकाल्न पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका एटीएमबाट अब १०० रुपैयाँ दरका नोटसमेत निकाल्न पाइने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै हाल एटीएमबाट १ हजार र ५०० रुपैयाँ दरका नोट मात्रै वितरण भइरहेकोमा १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको हो।

राष्ट्र बैंकका अनुसार ग्राहकबाट एटीएममार्फत १०० रुपैयाँ दरका नोट पनि वितरण गर्नुपर्ने माग बेला-बेलामा आउने गरेको छ। नजिकिँदै गरेको महान चाडबाडका अवसरमा बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्ने ग्राहकको भीड उल्लेख्य रूपमा बढ्न सक्ने आकलनसमेत केन्द्रीय बैंकले गरेको छ।

यसलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधा तथा चाडपर्वका समयमा बैंकमा हुने भीड व्यवस्थापनका लागि एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो।

राष्ट्र बैंकले केही बैंकसँग मौखिक जानकारी लिँदा प्राविधिक रूपमा एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्ने व्यवस्था गर्न सकिने जानकारी प्राप्त भएकोसमेत पत्रमा उल्लेख गरेको छ। मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालले हस्ताक्षर गरेको पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत दिइएको छ।

Leave Your Comment

Related News