काठमाडौं । नेपाल राष्ट्र बैंकले फिनटेक क्षेत्रमा समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्दै सुरक्षित र समावेशी डिजिटल वित्तीय सेवा विस्तार गर्ने लक्ष्यसहित पाँचवर्षे रणनीतिक ढाँचा अघि सारेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ।
रणनीतिले फिनटेकमैत्री नीति तथा नियमन, सुरक्षित डिजिटल पूर्वाधार, वित्तीय सेवामा प्रतिस्पर्धा, नयाँ प्रविधिमा आधारित वित्तीय उत्पादन तथा सेवाको विकास र डिजिटल वित्तीय साक्षरतामा जोड दिएको छ।
राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार गर्ने, वित्तीय क्षेत्रमा प्रतिस्पर्धा बढाउने, सेवाका विकल्प थप गर्ने, वित्तीय स्थायित्वमा आउन सक्ने जोखिम न्यूनीकरण गर्ने तथा प्रविधिको प्रयोगबाट वित्तीय सेवाको लागत घटाउने लक्ष्य राखेको छ।
तीन आधारस्तम्भ
फिनटेक क्षेत्रको विकासका लागि रणनीतिले तीन प्रमुख आधारस्तम्भ तय गरेको छ। पहिलो डिजिटल पूर्वाधार विकास, दोस्रो नीति, नियमन तथा सुशासन र तेस्रो फिनटेक इकोसिस्टम विकास रहेका छन्।
डिजिटल पूर्वाधारतर्फ विद्यमान प्रणालीलाई आधुनिक बनाउने तथा नियमन र सुपरिवेक्षणमा प्रविधिको प्रयोग बढाउने योजना छ। सुरक्षित, भरपर्दो र निरन्तर सञ्चालन हुन सक्ने डिजिटल पूर्वाधारलाई वित्तीय सेवा विस्तारको आधारका रूपमा लिइएको छ।
नीति, नियमन तथा सुशासनतर्फ फिनटेकमैत्री नियामकीय व्यवस्था विकास गर्ने, विभिन्न फिनटेक खेलाडीबीच समान प्रतिस्पर्धाको वातावरण बनाउने तथा डिजिटल वित्तीय सेवालाई सुरक्षित र जोखिमप्रतिरोधी बनाउने विषय समेटिएका छन्।
फिनटेक इकोसिस्टमअन्तर्गत नयाँ वित्तीय उत्पादन तथा सेवा विकास, नवप्रवर्तनलाई सहयोग, डिजिटल वित्तीय साक्षरता, सरोकारवाला निकायबीच समन्वय तथा नियमन र सुपरिवेक्षणको क्षमता विकासलाई प्राथमिकता दिइएको छ।
फिनटेक कम्पनीलाई समान अवसर
राष्ट्र बैंकले फिनटेक क्षेत्रमा काम गर्ने विभिन्न संस्थालाई समान प्रतिस्पर्धाको अवसर उपलब्ध हुने गरी नियामकीय व्यवस्था विकास गर्ने भएको छ।
डिजिटल वित्तीय सेवामा नयाँ कम्पनी तथा प्रविधिको प्रवेश बढ्दै गएको अवस्थामा स्वस्थ प्रतिस्पर्धाबाट उपभोक्ताले थप विकल्प पाउने र सेवाको लागत घटाउन सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।
नयाँ प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्दा नवप्रवर्तनलाई अवरोध गर्नेभन्दा जोखिमलाई ध्यानमा राख्दै आवश्यक वातावरण सिर्जना गर्ने नीति रणनीतिमा अघि सारिएको छ।
यसका लागि फिनटेक कम्पनी, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक तथा अन्य सरोकारवालाबीच सहकार्य बढाउने लक्ष्य राखिएको छ।
ग्रामीण क्षेत्र र गिग अर्थतन्त्र प्राथमिकतामा
रणनीतिले डिजिटल वित्तीय सेवाको पहुँच ग्रामीण क्षेत्र तथा वित्तीय सेवाबाट कम लाभ लिइरहेका समूहसम्म विस्तार गर्ने विषयलाई पनि प्राथमिकता दिएको छ।
सूक्ष्म, साना तथा मझौला उद्यम, ग्रामीण क्षेत्र, युवा, महिला, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध व्यक्तिलाई लक्षित समूहका रूपमा राखिएको छ।
डिजिटल माध्यमबाट वित्तीय सेवा गाउँसम्म पुर्याएर बैंकिङ तथा वित्तीय सेवाको पहुँच कम भएका समूहलाई औपचारिक वित्तीय प्रणालीमा जोड्ने लक्ष्य राष्ट्र बैंकको छ।
साइबर जोखिम न्यूनीकरणमा जोड
डिजिटल वित्तीय सेवाको विस्तारसँगै साइबर जोखिम, डिजिटल ठगी, प्रणाली अवरुद्ध हुने जोखिम तथा ग्राहकको तथ्यांक सुरक्षालाई पनि रणनीतिले प्राथमिकतामा राखेको छ।
सुरक्षित र जोखिमप्रतिरोधी डिजिटल वित्तीय प्रणाली निर्माण गर्दै डिजिटल सेवाप्रति उपभोक्ताको विश्वास कायम राख्ने लक्ष्य राखिएको छ। यसका लागि नियमन तथा सुपरिवेक्षणमा प्रविधिको प्रयोग बढाउने योजना छ।
त्यस्तै डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोगका लागि वित्तीय तथा डिजिटल साक्षरता बढाउने रणनीति पनि अघि सारिएको छ।
नयाँ वित्तीय उत्पादन र अन्तरआबद्धतामा जोड
राष्ट्र बैंकले फिनटेक कम्पनी तथा विद्यमान वित्तीय संस्थालाई नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहकको आवश्यकताअनुसार नयाँ वित्तीय उत्पादन तथा सेवा विकास गर्न प्रोत्साहन गर्ने भएको छ।
विभिन्न डिजिटल वित्तीय प्रणालीबीच अन्तरआबद्धता बढाउने लक्ष्यसमेत रणनीतिमा राखिएको छ। प्रणालीहरूबीच सहज सेवा आदानप्रदान हुँदा प्रयोगकर्ताले एउटै डिजिटल प्रणालीमा सीमित हुनुपर्ने अवस्था कम हुने र वित्तीय सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भए डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तारसँगै प्रतिस्पर्धा बढ्ने, सेवा लागत घट्ने र नेपालमा सुरक्षित, समावेशी, नवीन तथा जोखिमप्रतिरोधी डिजिटल वित्तीय प्रणाली विकास हुने राष्ट्र बैंकको अपेक्षा छ।



