काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ बनाउन माग गरेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले बाढी, पहिरो र नदी कटानजस्ता घटनालाई ‘दैवी प्रकोप’ भन्नु उपयुक्त नभएको बताएका हुन्।
उनले भोटेकोशीमा आएको बाढीलाई दैवी प्रकोप भन्न नमिल्ने भन्दै यसलाई प्राकृतिक विपत्तिका रूपमा बुझ्नुपर्ने बताए।
खरेलले नेपालमा हुने बाढी, पहिरो र कटानका घटना प्राकृतिक वा मानव सिर्जित विपत्तिका रूपमा हुने गरेको उल्लेख गरे। यस्ता घटनालाई ‘दैवी प्रकोप’को संज्ञा दिँदा राज्यले आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिन सक्ने उनको भनाइ थियो।
उनका अनुसार बाढी, पहिरो तथा अन्य विपद्का घटना प्राविधिक कमजोरी, वातावरण विनाश र अव्यवस्थित विकास निर्माणका कारण पनि हुने गरेका छन्।
‘यी घटनाहरू या त प्राविधिक कमजोरी, या त वातावरण विनाश, वा अव्यवस्थित विकास निर्माणका कारण हुने गरेका छन्,’ खरेलले भने, ‘त्यसैले यस्ता घटनालाई दैवी प्रकोप नभई प्राकृतिक विपत्ति मान्नुपर्छ र सोहीअनुसार राज्यले राहत तथा व्यवस्थापनको तयारी गर्नुपर्छ।’
खरेलले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषको नाम परिवर्तनसँगै राज्यको तयारी र जिम्मेवारीसमेत स्पष्ट हुनुपर्नेमा जोड दिए।



