RE
Global College

बाढी क्षतिको बीमा दाबी करिब २१ अर्ब, दाबी भुक्तानी सुरु

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको भौतिक क्षतिको प्रारम्भिक बीमा दाबी रकम २० अर्ब ९८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार १८० वटा दाबी दर्ता भइसकेका छन्।

बाढी प्रभावित बीमितहरूलाई हालसम्म चारवटा निर्जीवन बीमा कम्पनीहरूले ६८ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेका छन्। जसमध्ये युनाइटेड अजोडले ३३ लाख १४ हजार, शिखर इन्स्योरेन्सले २६ लाख ६२ हजार, एनएलजी इन्स्योरेन्सले ७ लाख ५० हजार र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २२ हजार रुपैयाँ भुक्तानी गरेका हुन्।

यसअघि प्राधिकरणले सम्भावित जोखिमसमेत समेटेर प्रारम्भिक क्षतिको रकम २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको विवरण सार्वजनिक गरेको थियो। पछि जोखिम एक्सपोजर र वास्तविक रूपमा परेको प्रारम्भिक दाबीबीच फरक छुट्याएर अद्यावधिक तथ्यांक सार्वजनिक गरिएको हो।

कुन कम्पनीमा कति दाबी?

रकमका आधारमा सबैभन्दा ठूलो प्रारम्भिक दाबी हिमालयन एभरेस्ट इन्स्योरेन्समा परेको छ। सो कम्पनीमा १५९ वटा दाबीमार्फत ६ अर्ब २७ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको अनुमानित दाबी परेको छ।

दाबी सङ्ख्याका आधारमा भने शिखर इन्स्योरेन्स अगाडि छ। शिखरमा ४०१ वटा दाबी परेका छन्, जसको अनुमानित रकम २ अर्ब ९९ करोड ५४ लाख ६४ हजार रुपैयाँ छ।

यस्तै सानिमा जीआईसीमा २४२ वटा दाबीबाट ३ अर्ब ५० करोड ७९ लाख ६८ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीमा २०७ वटा दाबीबाट १ अर्ब ९३ करोड ६८ लाख १८ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियरमा २०५ वटा दाबीबाट १ अर्ब १२ करोड ३१ लाख ५७ हजार रुपैयाँ बराबरको अनुमानित दाबी परेको छ।

त्यसैगरी नेको इन्स्योरेन्समा २४० वटा दाबीबाट १ अर्ब १ करोड ३६ लाख ८१ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलमा २२२ वटा दाबीबाट ८३ करोड ५० लाख ७४ हजार रुपैयाँ, युनाइटेड अजोडमा ७५ वटा दाबीबाट ८२ करोड ६२ लाख ४ हजार रुपैयाँ र दि ओरिएन्टल इन्स्योरेन्समा १९ वटा दाबीबाट ८२ करोड ३२ लाख ५७ हजार रुपैयाँ दाबी परेको छ।

नेपाल इन्स्योरेन्समा १३१ वटा दाबीबाट ५६ करोड ११ लाख १५ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्समा ११४ वटा दाबीबाट ५० करोड ३२ लाख १ हजार रुपैयाँ र एनएलजी इन्स्योरेन्समा ११० वटा दाबीबाट ४६ करोड ११ लाख ७० हजार रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ।

सम्पत्ति बीमामा सबैभन्दा ठूलो क्षति

क्षेत्रगत रूपमा सबैभन्दा धेरै सम्पत्ति बीमातर्फ ९ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको दाबी पेस भएको छ। यस्तै इन्जिनियरिङ तथा ठेक्का बीमातर्फ ४ अर्ब ४१ करोड, मोटर बीमातर्फ ३ अर्ब ७ करोड, म्यारिनतर्फ २ अर्ब ४८ करोड, स्वास्थ्य बीमातर्फ २२ करोड र अन्य विभिन्न पोर्टफोलियोअन्तर्गत १ अर्ब ३६ करोड रुपैयाँ बराबरको बीमा दाबी पेस भएको छ। बीमा प्राधिकरणले बाँकी परेका दाबीहरूको पनि शीघ्र मूल्याङ्कन गरी अविलम्ब भुक्तानी फछ्र्यौट गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ।

20260928111408

Leave Your Comment

Related News