काठमाडौं । इङ्लिस प्रिमियर लिगले लगाएका वित्तीय नियम उल्लङ्घनका आरोपहरूमा मानचेस्टर सिटीले आफ्नो निर्दोषिता दोहोर्याउँदै कानुनी रूपमा कडा चुनौती दिने घोषणा गरेको छ। प्रिमियर लिग कमिसनको निर्णयप्रति निराशा व्यक्त गर्दै क्लबले आफूमाथि गरिएका आरोपहरू पूर्ण रूपमा निराधार रहेको र आफ्ना दाबीहरूलाई पुष्टि गर्ने अकाट्य प्रमाणहरू सुरक्षित रहेको जनाएको छ।
विज्ञप्ति जारी गर्दै मानचेस्टर सिटीले आवश्यक परेका जुनसुकै नियामक तथा कानुनी निकायहरूमा आफ्नो अडानका लागि आक्रामक र सक्रिय रूपमा लड्ने बताएको छ। प्रिमियर लिगको छानबिन प्रक्रिया अझै जारी रहेको र धेरै महत्त्वपूर्ण चरणहरू पूरा हुन बाँकी रहेको अवस्थामा क्लबले आफूलाई उपलब्ध पुनरावेदनका सबै ढोकाहरू ढक्ढकाउने स्पष्ट पारेको छ।
क्लबका अनुसार कमिसनले निकालेको निष्कर्षमा कानुन, सिद्धान्त र तथ्यगत हिसाबले स्पष्ट तथा गम्भीर त्रुटिहरू रहेका छन्, जसका कारण यो निर्णय कानुनी रूपमा असुरक्षित र त्रुटिपूर्ण छ।
विगत आठ वर्षदेखि प्रिमियर लिगको बोर्ड र कार्यकारी समितिले निष्पक्ष, स्वतन्त्र र तटस्थ नियामकका रूपमा काम गर्ने विश्वासका साथ क्लबले न्यायिक प्रक्रियाको पूर्ण सम्मान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। आगामी कानुनी र आधिकारिक प्रक्रियाहरू टुङ्गोमा नपुगेसम्म बाँकी विषयमा धेरै कुरा बोल्न सीमा रहेकाले थप जानकारी पछि गराइने क्लबले जनाएको छ।



