काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ । मंगलबार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो । यो रियालको अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्था हो ।
यसअघि सेप्टेम्बर २ मा एक अमेरिकी डलर बराबर २२ लाख रियाल पुगेको थियो । त्यसको २७ दिनपछि रियालले फेरि नयाँ न्यून विन्दु कायम गरेको हो । युद्ध सुरु भएयता इरानी मुद्रा लगातार दबाबमा रहँदै आएको छ ।
मुद्रा कमजोर हुँदा इरानमा आयात हुने वस्तु महँगो हुन सक्छन्। यसले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने र सर्वसाधारणमाथि आर्थिक दबाब थपिने जोखिम हुन्छ ।
यसैबीच, इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ताको सम्भावना पनि देखिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले होर्मुज जलडमरूमध्य खोल्ने विषयमा भइरहेका छलफल थप गम्भीर बनेको बताएका छन् ।
होर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । युद्धका कारण यस क्षेत्रमा तनाव बढ्दा विश्व बजारमा तेलको आपूर्ति र मूल्यमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ ।



