काठमाडौं । पोर्चुगिज फुटबल टोलीका कप्तान तथा दिग्गज फरवार्ड क्रिस्टियानो रोनाल्डोले टोलीका मुख्य प्रशिक्षकसँगको तनावपछि युइएफए नेसन्स लिग अन्तर्गत डेनमार्कविरुद्धको खेल अगावै पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। नर्वेविरुद्धको खेलमा टोलीले २-१ को जित हात पार्दा करिब ३० मिनेटसम्म मैदान बाहिर ‘वार्म-अप’ गराएर पनि पूर्ण रूपमा बेन्चमै सीमित गरिएपछि उनी र मुख्य प्रशिक्षकबिच विवाद सुरु भएको हो। सन् २००८ यता कुनै पनि आधिकारिक प्रतिस्पर्धात्मक खेलमा रोनाल्डो पहिलो पटक टोलीको बेन्चमै सीमित भएका हुन्।
नर्वेविरुद्धको खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रशिक्षकले रोनाल्डोलाई लामो समय वार्म-अप गराएर पनि मैदान नउतार्नु गल्ती भएको स्वीकार गरे पनि आफ्नो निर्णयको बचाउ गरेका थिए। उनले खेलको परिस्थिति बदलिएको र अर्का फरवार्ड गोन्सालो रामोसले गोल गरेर उत्कृष्ट प्रदर्शन गरिरहेकाले उनलाई बाहिर झिक्न उचित नठानेको स्पष्ट पारेका थिए। साथै टोलीमा नियम सबैका लागि बराबर हुने र आगामी डेनमार्कविरुद्धको खेलमा पनि रामोसले नै सुरुआत गर्ने र आवश्यक परे मात्र रोनाल्डोलाई मैदान छिराइने बताएपछि विवाद थप चुलिएको थियो।
डेनमार्कविरुद्धको खेलमा पनि सुरुवाती ११ मा नपर्ने निश्चित भएपछि र पोर्चुगिज फुटबल फेडरेसनका अध्यक्ष पेद्रो प्रोएन्सासँगको छलफलपछि असन्तुष्ट बनेका रोनाल्डोले क्याम्प छाड्ने निर्णय गरे। त्यसपछि उनले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामार्फत मुख्य प्रशिक्षकको पत्रकार सम्मेलन र फेडरेसन अध्यक्षसँगको कुराकानी पश्चात् क्याम्प छाडेको र यसको वास्तविक सत्य तथा कारणहरू छिट्टै सम्पूर्ण पोर्चुगिज जनतासामु सार्वजनिक गर्ने घोषणा गरेका छन्।उनी लेख्छन्। “मुख्य प्रशिक्षकको पत्रकार सम्मेलन र पोर्चुगिज फुटबल फेडरेसनका अध्यक्षसँगको कुराकानी पश्चात् मैले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेको छु। मैले यो निर्णय लिनुका पछाडिको वास्तविक सत्य र कारणहरू छिट्टै सम्पूर्ण पोर्चुगिज जनतासामु सार्वजनिक गर्नेछु। अहिले भने पोर्चुगल र मेरा सम्पूर्ण टोलीका साथीहरूलाई आगामी खेलका लागि शुभकामना दिने समय हो।” रोनाल्डोको यस अप्रत्यासित कदमपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास लिनसक्ने अडकलबाजी सुरु भएको छ।
यसैबिच रोनाल्डोकी बहिनीले समेत सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोली, प्रशिक्षक र पोर्चुगिज मिडियाप्रति कडा आक्रोश व्यक्त गरेकी छन्। उनले रोनाल्डोले राष्ट्रिय टोलीमा अझ बढी सम्मान पाउनुपर्ने, टोलीको संरचना अझ राम्रो हुनुपर्ने र पोर्चुगिज पत्रकारितामा अड्कलबाजीभन्दा बढी क्षमता हुनुपर्ने बताएकी छन्। पोर्चुगिज जनताप्रति टिप्पणी गर्दै उनले रोनाल्डो अघिको मध्ययम स्तरको फुटबल युग स्मरण गराउँदै रोनाल्डोलाई धन्यवाद दिएकी छन् र उनी अझ बढी सम्मानको हकदार रहेको उल्लेख गरेकी छन्।
पोर्चुगलका लागि रोनाल्डोको पछिल्ला ५ खेलको प्रदर्शनलाई हेर्दा उनले नर्वेविरुद्ध २-१ को जितमा ० मिनेट (पुरा समय बेन्चमा सीमित), वेल्सविरुद्ध २-१ को जितमा ६७ मिनेट (सुरुआती ११ मा), स्पेनविरुद्ध ०-१ को हारमा ९० मिनेट (सुरुआती ११ मा), पोल्यान्डविरुद्ध ३-१ को जितमा ७५ मिनेट (१ गोल), र स्कटल्यान्डविरुद्ध २-१ को जितमा ४५ मिनेट खेल्दै १ निर्णायक गोल गरेका थिए।



